२६ वर्षदेखिको चुनावी मुद्दा : सहजपुर-बोगटान-दिपायल सडक
डोटी । २०४६ सालको राजनीतिक परिवर्तनपछि २०४८ साल वैशाख २९ गते भएको प्रतिनिधिसभा सदस्य चुनावमा नेताहरुको भोट माग्ने मुद्दा थियो सहजपुर-बोगटान-दिपायल सडक । २६ वर्षपछि हुन लागेको स्थानीय तहको चुनावमा पनि मतदाताले सोही सडकको माग गर्दैछन ।
त्यतिबेला पञ्चायतकाल थियो जतिबेला सहजपुर-बोगटान-दिपायल सडक निर्माण कार्य सुरु भएको थियो ।
कैलालीको सहजपुरबाट डोटीको बिपीनगर, बोगटान हुँदै जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिपायल पुग्ने भनिएको सडक निर्माण कार्य सुरु भएको ३२ वर्ष पुगिसक्दा पनि जम्माजम्मी ३२ किलोमिटर धुले सडक निर्माण भएको छ ।
प्रजातन्त्र आएपछि त यो सडक निर्माण कार्यले तिब्र गति लेला भन्ने आश बोकेका थिए स्थानीयवासीहरुले तर त्यो सडक त नेताहरुको भोट माग्ने मुद्दा मात्रै बनेको उनीहरुको बुझाई छ ।
२०४८ सालमा प्रतिनिधिसभाको चुनाव लड्दा नेपाली कांग्रेसका उम्मेद्वार सिद्धराज ओझाले सहजपुर-बोगटान-दिपायल सडकलाई मुख्य नारा बनाएका थिए ।
सडककै नाराले ओझा देशमै सबैभन्दा बढी मतान्तरले जितेका थिए । आफूले बोगटानीलाई दिएको आश्वासन (सहजपुर-बोगटान-दिपायल सडक निर्माण) सरकारको नीति तथा कार्यक्रमको प्राथमिकतामा नपारेको भन्दै २०४९ सालमा ओझाले सांसद पदबाट राजीनामा समेत दिएका थिए ।
सडक निर्माणलाई तीब्रता दिने आश्वासन सहित ओझाले राजीनामा फिर्ता लिएका थिए । ओझाको संासद पद त जोगियो तर सडक निर्माण कार्यले गति लिन सकेन ।
सहजपुर-बोगटान-दिपायल सडक निर्माण कार्य अघि बढाएको भन्दै सिद्धराज ओझाले २०५१ सालको मध्यावधी निर्वाचनमा भोट मागे र पुनः जिते पनि ।
२०५६ सालको संसदीय निर्वाचानसम्म यो सडकको १८ किलोमिटर ट्रयाक खुलिसकेको थियो । त्यतिबेला सडक निर्माणका लागि छुट्टै परियोजना कार्यालय डोटीको बिपीनगरमा खोलेको जस लिदै ओझाले यसै ठाउँबाट तेस्रो पटक पनि चुनाव जिते । सडक निर्माणको आशामा जनताले तीन/तीन चुनाव जिताएका ओझा तीन पटक मन्त्री पनि भए ।
२०६४ सालको संबिधानसभाको निर्वाचनमा समेत सो क्षेत्रमा ओझानै नेपाली कांग्रेसको तर्फबाट उम्मेद्वार बने । तर, उनले पराजय भोग्नु पर्यो । ओझाको जीवन कालमा १८ किलोमिटर सडक मात्रै बन्यो । अहिले नेता ओझाको निधन भैसकेको छ ।
संविधानसभाको पहिलो निर्वाचनमा चुनाव जित्ने तत्कालिन नेकपा माओवादीका सभासद् खेम बमले अवरुद्ध सहजपुर-बोगटान-दिपायल सडक निर्माणलाई मुख्य नारा बनाएर भोट मागेको बडीकेदार गाउँपालिका-१ का स्थानीय दीर्घ बम बताउँछन । ‘माओवादी द्वन्दको बेलादेखि निर्माणको कार्य अबरुद्ध भएको थियो,’ उनले भने-‘ माओवादीकै उम्मेद्वारलाई स्थानीयले आशा गरी भोट हाले तर उपलब्धी भएन ।’
२०७० सालको संबिधानसभाको दोस्रो चुनावमा सहजपुर-बोगटान-दिपायल सडक निर्माण आफूले बनाउने भन्दै भोट मागेका नेकपा एमालेका उम्मेदबार प्रेमबहादुर आलेमगरलाई बोगटानीबासीले भोट हालेर जिताए ।
सांसद आलेमगरले उक्त सडकमा धेरै बजेट ल्याउने पहल गरेको बताएपनि स्थानीयबासीहरुले अनुभुति गर्न पाउने गरी कुनै काम भएको देखिदैन । ‘आलेमगर ज्यूबाट पनि गफ बढी भयो, काम कमै भयो ।’ स्थानीयबासीहरु बताउँछन ।
असार १४ गते हुने स्थानीय तह चुनावका लागि दलहरुले तय गरेका उम्मेद्वारहरुले पनि सहजपुर-बोगटान-दिपायल सडकको मुद्दा उठान गरिरहेको स्थानीयबासीहरु बताउँछन । ‘फेरी पनि त्यही सडकको नाममा बोगटानी जनताको आँखामा छारो हाल्ने काम भएको छ’ नाम उल्लेख नगर्ने शर्तमा एक स्थानीयबासीले अनलाइनखबरसंग भने-‘यो सडक बन्ला भन्ने आशै मरिसक्यो अब त ।’
उक्त सडकको लम्वाई जम्मा एक सय पाँच किलोमिटर रहेको छ ।
