Friday, September 7, 2018
Home > राष्ट्रिय > १८ दल सडक छाप :एमाले

१८ दल सडक छाप :एमाले

काठमाडौँ, २१ माघ – सत्तारुढ नेकपा एमालेले एकीकृत माओवादी लगायतका १८ दलका नेतालाई सडक छाप भनी टिप्पणी गरेको छ ।

एमाओवादी लगायतका १८ दलले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई मानसिक रोगीको आरोप लगाउँदै उपचारका लागि सरकारसँग औपचारिक रुपमा आग्रह गरेपछि त्यसको प्रतिक्रियास्वरुप एमालेले एमाओवादी लगायतका १८ दलका नेतालाई सडक छाप भनी टिप्पणी गरेको हो ।

एमालेको स्थायी समितिको बुधवार बसेको अनौपचारिक बैठकपछि पार्टी सचिव प्रदिप ज्ञवालीले आफ्ना अध्यक्ष ओलीमाथि लगाइएको आरोप छुद्र, अराजनीतिक र असभ्य भएको बताए ।

उनले सडकछापले गरेका निर्णयमाथि बैठकमा छलफल नै नभएको भन्दै एमाले सडकछापले गरेका निर्णयलाई छलफलको एजेण्डा बनाउने नभइ मुलुकका ठूला ठूला मुद्दामाथि छलफल गर्ने पार्टी भएको प्रतिक्रिया दिए ।

स्थायी समितिको बैठकले वार्ताका लागि प्रक्रिया रोक्नुपर्ने एमाओवादी लगायतका विपक्षी दलहरुको सर्त कुनै हालतमा स्वीकार नगर्ने निर्णय पनि गरेको छ । तीन घण्टा लामो बैठकले एमाओवादी लगायतका विपक्षी दलले गर्ने भनेको आन्दोलनमा जनताले साथ नदिने निष्कर्ष समेत निकालेको छ ।

नेपाली जनतालाई संविधानसभाबाट यथाशिघ्र संविधान दिने र त्यसका लागि सहमति खोज्ने मनसाय अल्पमत पक्षको रहेको हो भने सबै खाले आन्दोलन, द्वन्द्व र अन्तरविरोध चर्काउने गतिविधि रोकेर वार्तामा आउनुपर्ने निष्कर्षसमेत निकालेको छ ।
बैठकपछि उपाध्यक्ष भीम रावलले संविधानसभा प्रस्ताव निर्माण समितिमा छलफलका अन्तरवस्तु कसरी अघि बढेको भन्नेमा केन्द्रित रहेर छलफल र विचारविमर्श भएको जानकारी दिदै उनले भने –‘एमाले सहमतिको खोजीमा छ, सहमतिबाटै अघि बढ्न चाहन्छ तर त्यसो हुन सकेन भने संविधानसभाको निर्वाचनको समयमा सबै राजनीतिक दलले जनतासँग प्रतिबद्धता गरेअनुरुप प्रक्रियामा गएर छिनोफानो गर्नुपर्छ, यसमा कसैले विमति गर्न हँुदैन ।’

‘प्रस्ताव निर्माण समितिले काम आरम्भ गरको छ, यसले काम अघि बढाओस, संविधानसभा कामविहीन हुने, सभासद् भत्ता खाएर बस्ने, जनताको चाहनाअनुसार संविधान लेखनको काम अघि बढ्न नसक्ने गतिविधिले देश, जनता र लोकतन्त्रको हित नगर्ने भएकाले सहमतिको खोजीलाई कायममै राखेर प्रक्रिया अघि बढाइएको हो’–रावलले भने ।

अघिल्लो संविधानसभाको पूरै अवधि र गएको एक वर्षदेखि एमाले र नेपाली काँग्रेससहितका दलले संविधान लेखनका लागि सहमतिको अथक प्रयास गरिए पनि परिणाम हात लाग्न नसकेको वास्तविकतालाई सबैले बुझ्न आवश्यक रहेको उपाध्यक्ष रावलको कथन थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *