Friday, September 7, 2018
Home > राष्ट्रिय > सुर्खेत आन्दोलनमा ज्यान गुमाएकाको नामबाट प्रदेशको नाम राख्न माग

सुर्खेत आन्दोलनमा ज्यान गुमाएकाको नामबाट प्रदेशको नाम राख्न माग

मृतक परिवारले पत्रकार सम्मेलन गरे
दीपक बुढा
३० साउन, सुर्खेत । अखण्ड मध्यपश्चिम माग गर्दै भएको आन्दोलनको क्रममा ज्यान गुमाएका तीन जनाका परिवारले सात बुँदे माग अघि सारेका छन् । माग पूरा नभएसम्म शव नबुझ्ने उनीहरुको अडान छ । आन्दोलनका सहीदको नामबाट प्रदेशको नामांकन गरिनुपर्ने पीडित परिवारको माग छ ।
Surkhet-Andolan
अखण्ड मध्यपश्चिमको माग गर्दै सुरु भएको आन्दोलन अन्तगरगत गत सोमबार हिंसात्मक गतिविधि भएपछि प्रहरीले गोली चलाउँदा वीरेन्द्रनगर-३ का टीकाराम गौतम र वीरेन्द्रनगर-१० इत्रामका यामबहादुर बीसीको मृत्यु भएको थियो । त्यस्तै भागदौडका क्रममा गोपालसिंह रजवारको मृत्यु भएको थियो ।
आन्दोलनका क्रममा मृत्यु भएकाहरुका आफन्तले शनिबार पत्रकार सम्मेलन आयोजना गरेका छन् । पत्रकार सम्मेलनमा उनीहरुले सातबुँदे मागपत्र प्रस्ततु गर्दै जुलुसमा गोली चलाउने एवं आदेश दिने सुरक्षा प्रमुखमाथि कारवाहीको माग गरे ।
मृतकका परिवारले शनिबार वीरेन्द्रनगरमा सामूहिक पत्रकार सम्मेलन गरी मध्यपश्चिमका प्रहरी प्रमुख डीआइजी केशव अधिकारी, सुर्खेतका प्रमुख जिल्ला अधिकारी वलदेव गौतम र प्रहरी प्रमुख राजेशकुमार लाल कर्णलाई कारवाहीको माग गरेका छन् ।
सीमाङ्कनको विषयमा आफन्तले ज्यान गुमाएका तर, सुर्खेतका राजनीतिक दल र प्रहरी प्रशासनको व्यवहारले आफुहरुलाई झन दुःखी बनाएको उनीहरुले उल्लेख गरेका छन् ।
अखण्ड मध्यपश्चिम र सुर्खेतलाई राजधानी बनाउने नाममा आफन्तले ज्यान दिए पनि आन्दोलन तुहाउन षड्यन्त्र भएको उनीहरुको दाबी छ ।
सातबुँदे मागमा मृतक तीनै जनालाई सहिद घोषणा गर्नु पर्ने, स्थानीय चोकको नाम मृतकको नामबाट राख्नुपर्ने माग गरिएको छ । छैठौं मागमा भनिएको छ- ‘आन्दोलनका क्रममा सहादत प्राप्त गरेका शहिदहरुको नामबाट प्रदेशको नामांकन गर्नुपर्ने ।’
त्यसैगरी घटनाको निश्पक्ष छानविनका लागि आयोग गठन गर्नुपर्ने, घाइतेको निःशुल्क उपचार गर्नुपर्ने लगायतका माग पनि अघि सारेका छन् । मृतक यामबहादुर बीसीकी पत्नी निमा शाहीले हवाइ फायरका नाममा आफ्ना श्रीमानलाई एसएलआर राइफलले हानेर हत्या गरेको बताइन ।
गोपालसिंह राजवारका आफन्त दीपकसिंह रजवारले प्रहरी प्रशासनले फुटपाथमा मरेको जस्तो व्यवहार गरेको गुनासो गरे । उनले घटनामा संलग्न सुरक्षाकर्मीलाई तत्काल कारवाही गरी आफूहरुलाई न्याय दिलाउन पनि माग गरे ।
Seven-point-Demand

Leave a Reply

Your email address will not be published. Required fields are marked *