काठमाडौं । एमाओवादी नेता डा. बाबुराम भट्टराईले आन्दोलनकारी शक्तिहरुसँग वार्ता गर्ने सरकार र सत्तारूढ दलहरूलार्इ आग्रह गरेका छन् । शासक वर्गीय/जातीय अहंकार/दम्भ त्यागेर वार्ता गर्न र समस्याको राजनीतिक समाधान खोज्न सरकारमा रहेका दलहरुलार्इ आग्रह गरेका हुन् ।
भट्टरार्इले फेसबुक पेजमा लेखेका छन्-‘संविधानसभाबाट संविधान जारी गर्ने जस्तो युगान्तकारी काम कर्फ्यु र सुरक्षाकर्मीको घेराभित्रबाट गर्नु शोभनीय र उपयुक्त हुँदैन ! त्यसैले सरकारले तत्काल तनाव शिथिलीकरणको पहल गरोस् !’ साथै उनले आन्दोलनकारीहरुले पनि शान्तिपूर्ण जनप्रदर्शन र जनदवावको बाटो अनुसरण गर्नु पर्ने बताएका छन् । एमाओवादी नेता डा भट्टराईले एमाओवादीका लागि अहिले ‘जेठी भन्छे पानी, कान्छी भन्छे घाम! म एक्लो बुढो कतातिर जाम् !’ भन्ने उखान चरितार्थ भएको समेत बताए ।
‘एकातिर त्यति ठुलो संघर्ष गरेर ल्याएको संविधानसभाबाट संविधान नै नबन्ने र देश पुन: प्रतिगमनतिर फर्केर प्राप्त उपलब्धी पनि गुम्ने डर’ भट्टरार्इले लेखेका छन्- अर्कोतिर, उत्पीडित वर्ग, जाति, क्षेत्र, लिंग, समुदायका अधिकार सुनिश्चित नभएको संविधानले देशमा अर्को द्वन्दको वीउ रोप्ने र पूरै देश/समाज विखण्डन, अशान्ति, अस्थीरताको लामो दुष्चक्रमा फस्ने डर ।’ जटील स्थितमा एमाओवादीले न्यूनतम साझा विन्दू पहिल्याएर तत्काल संविधान जारी गर्ने र अन्य कुरा निम्ति दवाव/संघर्ष जारी राख्ने जुन नीति लिएको उनले बताए । त्यसलाई ‘दोधारे’ भनेर आरोपित गरेको तथा केहीले आफैंमाथि कुनै वृत्तबाट नियोजित अभियानै चलाइएको पाइएको उनले बताएका छन् ।
उनले भने-यसलाई मैले एउटा राजनीतिक/सामाजिक अभियन्ताले स्वाभाविक रुपमा पाउने पुष्पगुच्छा र इँटावर्षाको पुरस्कार सम्झेको छु ।’
