Monday, September 3, 2018
Home > पत्र-पत्रिका > सार्वजनिक यातायातमा छ महिनामा दुई अर्बको ठगी

सार्वजनिक यातायातमा छ महिनामा दुई अर्बको ठगी

काठमाडौं । दृश्य १: कोटेश्वरबाट बा२ख २३०४ नम्बर चक्रपथ परिक्रमा रुटको सार्वजनिक गाडी चढेका यात्रु सिनामंगल र एयरपोर्ट ओर्लिए। उनीहरुसँग सहचालकले १५ रुपैयाँका दरले भाडा लिए। केही यात्रुले प्रतिवाद गर्दै सोधे, ‘भाडा त १३ रुपैयाँ होइन र? खै दुई रुपैयाँ फिर्ता दिनू।’ सहचालक ‘चानचुन छैन’ भन्दै अर्काेतिर फर्किए, चालकले गाडी कुदाइहाले।
micro-1 (1)
दृश्य २
चाबहिलबाट बा२ख ९५५ नम्बरको बस चढेका यात्रु सुकेधारा तथा चप्पलकारखानामा झरे। उनीहरुले पनि चानचुन नभएको बहानामा सहचालकबाट दुई रुपैयाँ फिर्ता पाएनन्। सरकारी भाडादरअनुसार यी दुवै गाडीका सहचालकले ती क्षेत्रमा ओर्लने यात्रुसँग १३ रुपैयाँ मात्र भाडा लिनुपर्छ। व्यवहार यस्तो छैन। उनीहरु हरेक यात्रुसँग दुई/दुई रुपैयाँ बढी भाडा असुलिरहेका छन्।
एक दिनमा ती गाडीले औसतमा हजार यात्रु बोक्ने गरेको व्यवसायी बताउँछन्। उनीहरुकै जानकारीअनुसार ती गाडीमा दैनिक विद्यार्थी परिचयपत्र बोक्ने यात्रुको संख्या ३ सय हाराहारी हुन्छ। बाँकी ७ सय जनाबाट भने उनीहरुले यसैगरी चानचुन नभएको बहानामा एक र दुई रुपैयाँ फिर्ता नगरी दैनिक हजारदेखि १२ सयसम्म बढी रकम उठाउँदै आएको नागरिक दैनिकमा खबर छ ।
बानेश्वरदेखि अनामनगरसम्म दिनहुँ नेपाल यातायात चढ्ने गरेकी ४२ वर्षीया सरिता चौलागाईं भन्छिन्, ‘हामीले एक रुपैयाँ पुगेन भन्दा बसभरि बेइज्जत गर्छन्, उनीहरु भने हरेक दिन दुई रुपैयाँ फिर्ता दिँदैनन्, माग्दा पनि भाडा घटेको छैन भन्छन्, कि त चानचुन छैन भन्दै टार्छन्।’ आफूले कुनैकुनै सहचालकसँग झगडै गरेर भए पनि भाडा फिर्ता लिएको बताइन्। मंगलबार बा१ख ९९६८ नम्बरको बसका सहचालकलाई आफूले चानचुन मिलाएर १३ रुपैयाँ दिएको सुनाइन्।
चक्रपथ परिक्रमा र नेपाल यातायात मात्र होइन, उपत्यका तथा देशभरका सडकमा गुड्ने बस, मिनिबस, माइक्रो, ट्याक्सीलगायत ७० हजारभन्दा बढी सवारीसाधनले ६ महिनाअघि सरकारले घटाएको भाडादर लागू नगरी जबर्जस्ती बढी भाडा असुलिरहेका छन्।
सरकारले गत माघ २६ देखि लागू हुने गरी सार्वजनिक सवारीको भाडा घटाए पनि यातायात व्यावसायीको ‘दादागिरी’ ले यात्रु पुरानै दरले भाडा बुझाउन बाध्य छन्।
पेट्रोलियम पदार्थमा मूल्य घटेपछि सरकारले यातायात व्यवसायीसँग सहमतिमा भाडा घटाउने निर्णय गरेको थियो। व्यवसायी भने अटेर गर्दै पुरानै दरमा भाडा असुलिरहेका छन्।
पुरानै दरमा भाडा असुल्दा देशभरका सवारीसाधनले दैनिक एक करोडभन्दा बढी रकम यात्रुबाट ठगिन्छन्।
उपत्यकामा मात्र दैनिक गुड्ने ३ हजार बस तथा मिनिबसले दैनिक ३० लाख यात्रु चढाउने र ओराल्ने गर्छन्। एउटै यात्री चार/पाँचपटकसम्म चढ्ने र ओर्लने तथा काठमाडौं भित्रने र बाहिरिनेसमेत गरी यात्रुको संख्या बढी देखिने ट्राफिक प्रहरीको तथ्यांक छ। यस हिसाबले उपत्यकाका सडकमा बस तथा मिनिबस चढ्ने यात्रुबाट मात्र व्यवसायीले दैनिक ४५ लाख रुपैयाँभन्दा बढी रकम ठगी गर्दै आएको देखिन्छ।
कौशलटारबाट नयाँबजारस्थित कार्यालय दैनिक आउजाउ गर्ने गोपी पौडेलले दिनमा चारपटक बस चढ्ने क्रममा दैनिक ८ रुपैयाँ ठगिँदै आएको बताए। ‘जति किचकिच गरे पनि चानचुन छैन भन्छन्,’ उनले भने, ‘अब त दिक्क लागेर पैसा फिर्ता माग्नै छाडिसकेँ।’ उनले भाडा कार्यान्वयन गर्ने सरकारी निकायबाटै व्यवसायीलाई उपभोक्तामाथि लुट्ने छुट दिइएको आरोप लगाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *