काठमाडौं । चुरे भावर क्षेत्रलाई समेटेर संघीय प्रदेश बनाउनुपर्ने र आन्दोलनका नाममा सडक अबरुद्ध गर्न नपाइने माग गर्दै चुरे भावर राष्ट्रिय एकता पार्टीले शुक्रबार सर्लाहीमा ‘शक्ति प्रदर्शन’ गर्दैछ । प्रदर्शनका लागि बिभिन्न स्थानहरुबाट कार्यकर्ताहरुलाई हरिवनमा ओसारिएको छ ।

मधेसी मोर्चाको नाजायज दबावमा परेर चुरे भावर प्रदेशको अस्तित्व मेटाउन खोजिएको छ,’ चुरे भावरका अध्यक्ष वदि्र न्यौपानेले भने, ‘बिगतमा सरकारसँग भएको सहमतिअनुसार चुरे भावर क्षेत्रलाई समेटेर अलग संघीय प्रदेश बनाइनुपर्छ भनेर प्रदर्शन गर्न लागिएको हो । चुरे भावरको शुक्रबारको प्रदर्शनलाई लक्षित गर्दै जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकार र चुरे भावरबीच २०६४ भदौ मसान्तमा अलग्गै चुरे भावर प्रदेश बनाउने सम्झौता भएको थियो ।
मधेसी मोर्चाको दवावमा आफूहरुसँग भएका सम्झौता कार्यान्वयन नगर्ने षडयन्त्र भैरहेको, सीमा नाका र राजमार्गमा अवरोध पुर्याएर मोर्चाले जनतालाई दुःख दिएको र राष्ट्रिय एकतालाई संकटमा पारेको भन्दै चुरे भावरले आन्दोलन गर्दै आएको छ ।
उसले सर्लाहीको लालबन्दी, हरिवन, नवलपुरलगायतका क्षेत्रमा मधेसी मोर्चाको बन्दमा प्रतिकारसमेत गर्दै आएको छ । चुरे भावरले मधेसी मोर्चाको प्रतिकार गर्न भन्दै हालै युवा दस्तालाई समेत व्युँताएको छ ।
