प्रति सकेण्ड दुइलाख ६४ हजार सात सय घनफिट बहाव
कोशी नदीमा अधिक जलस्तर भएपछि खतराको संकेत रातो बत्ती बालिएको छ । दश दिनदेखिको लागातार वर्षाको कारण आएको बाढीले कोशीनदीमा पानीको बहाव यो वर्षकै उच्च रेकर्ड भएपछि खतराको सूचक रातो बत्ती बालिएको हो । आज बिहान १० बजे कोशी नदीमा दुई लाख ६४ हजार सात सय घनफिट पानीको बहाव रहेको छ ।
सोमबार बेलुका आठ बजेको रेकर्ड अनुसार कोशी नदीमा दुई लाख ५० हजार ६ सय ३० घनफिट बहाब रहेको थियो । कोशी ब्यारेजका ५६ मध्ये ३५ वटा ढोका खोलेर पानीको निकास दिइएको छ । कोशीब्यारेजको सुरक्षाको लागि रहेको प्रहरी चौकीका सइ भीमराज थेवेका अनुसार पानीको बहाव निरन्तर बढिरहेको छ । बिहान ५ बजे जलस्तर केही घटेपनि अहिले निरन्तर बढिरहेको छ । उनका अनुसार अहिले खतराको सूची रातो बत्ती बालिएको छ ।
कोशीब्यारेज निर्माण ताका नौ लाख ५० हजार घनफिट पानी नियन्त्रण गर्ने क्षमता भएपनि ब्यारेजको संरचना ५० वर्ष पुरानो हुनु र बालुवाले नदीको सतह उकासेका कारण अहिले ब्यारेजले आधामात्र पानी नियन्त्रण गर्न सक्ने प्राविधिकले बताएका छन् ।
तीन दिनअघि शनिबार ४ बजेको अघिल्ला रेकर्डलाई उछिन्दै पानीको बहावको २ लाख ४२ हजार ७ सय २५ क्युसेक पुगेको थियो । त्यतिबेला ब्यारेजका ५६ मध्ये ३३ ढोका खोलेर पानीलाई निकास दिइको थियो । १० दिन अघि पनि साउन १ गते दुई लाख ३३ हजार ८ सय ८० घनफिट पानी पुगेको थियो ।

