वीरगन्ज । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले शनिबार वीरगन्जमा लाठी जुलुस प्रदर्शन गरेको छ ।
वीरगन्जको घन्टाघरबाट दिउँसो सुरु भएको लाठी जुलुस माइस्थान, आदर्शनगर, घडिअर्वाचोक परिक्रमा गरी पुनः घन्टाघरमा पुगेर सम्पन्न भएको थियो ।

विगत पाँच महिनादेखि आन्दोलनरत् मोर्चाले केन्द्रीय कार्यक्रमअन्तर्गत् जिल्ला सदरमुकामहरुमा मधेसव्यापी लाठी जुलुस प्रदर्शन गरिएको तमलोपाका पर्सा जिल्ला अध्यक्ष पुरुषोत्तम झाले बताए ।
सरकारसँग पटक–पटकको वार्ता सकारात्मक नभएपछि पुस २७ गतेदेखि माघ ५ गतेसम्मका लागि मोर्चाले आन्दोलनका थप कार्यक्रम घोषणा गरेअनुसार कार्यकर्ताहरुले जुलुस प्रदर्शन गरेका हुन् ।
सीमांकन र संविधानप्रति असन्तुष्टि जनाउँदै मोर्चाले आन्दोलन थालेको शनिबार १ सय ५४ दिन पुगेको छ भने वीरगन्ज–रक्सौल सीमानाकामा जारी धर्नाको भने १ सय १३ दिन पुगेको छ ।
