काठमाडाै२६ पुस – नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य किरणले पार्टी विभाजन गरेर नयाँ पार्टी खोलेका नेत्रविक्रम चन्दको राजनीतिक–वैचारिक र व्यक्तिगत पाटामाथि गम्भीर प्रश्न उठाएका छन् । ११ देखि १४ पुससम्म काठमाडाैमा भएको राष्ट्रिय भेलामा वैद्यले पेस गरेको राजनीतिक प्रस्तावमा विप्लवको विश्लेषण गरिएको छ । नयाँ पत्रिका दैनिकमा समाचार छ ।
‘प्रतिक्रियावादी राज्यसत्ताको विकल्पमा नयाँ जनवादी क्रान्तिको तयारी गरौँ, दक्षिणपन्थी संशोधनवादको विरोधमा विचारधारात्मक संघर्ष चलाऔँ’ शीर्षकको २४ पृष्ठ लामो वैद्यको राजनीति प्रस्तावमा आन्तरिक विवाददेखि पार्टी विभाजनसम्म विप्लवमा देखिएका समस्या केलाइएका छन् । एउटै पार्टीमा हुँदा सुरु भएको वैद्य र विप्लवबीचको आरोप–प्रत्यारोप पार्टी विभाजनपछि दस्ताबेजमा समेटिन थालेका छन् ।
विप्लवले ८ मंसिरमा पार्टी मुख्यालय गएर वैद्यसँग सम्बन्ध विच्छेद गरेको पत्र बुझाएका थिए । उनले ११ देखि १३ मंसिरसम्म आफूनिकटका केन्द्रीय सदस्यहरूको चितवनमा गोप्य भेला गरेर आफ्नै नेतृत्वमा नेकपा माओवादी गठन गरेका थिए । संस्थापनपक्षले क्रान्तिलाई पूर्णता दिन नसकेको विप्लवको दाबी थियो । उनको पार्टीको २३ पुसदेखि दाङमा प्रथम राष्ट्रिय सम्मेलन चलेको छ । विप्लवले त्यहाँ प्रस्तुत गरेको राजनीतिक प्रस्तावमा वैद्यमाथिका समस्या उठान गरेको स्रोतले जनाएको छ । विप्लवको पार्टी अहिले पनि अर्धभूमिगत शैलीमा चलेको छ । पार्टी गठनको डेढ महिना बित्दा पनि पार्टी सम्पर्क कार्यालयसमेत राखिएको छैन । राष्ट्रिय सम्मेलनले पार्टीलाई भूगिमत बनाउने वा खुला चलाउने भन्ने निर्णय गर्नेछ ।
यस्ता छन् आरोप
१. लेनिनका विचारमा अवसरवादी पक्षले क्रान्तिकारी पक्षका विरुद्ध विद्रोह गर्नु खराब कुरा हो । विप्लव समूहले क्रान्तिकारी पक्षसित जुन सम्बन्धविच्छेद वा विद्रोहको कुरा गरेको छ, त्यो खराब कुरा हो । वास्तवमा यो विद्रोह होइन, फुटवाद हो ।
२. बौद्ध भेला (०६२ असार २)देखि सातौँ महाधिवेशन (०६९ पुस)सम्म पार्टीभित्र संघर्षको उठान र नेतृत्वको प्रश्नमा आधारित थियो । यस अवधिमा गुटबन्दीको लक्षण देखिन थालेका थिए । यसको नेतृत्व विप्लवले गरेका थिए ।
३. साताँै महाधिवेशनपछि पारित कार्यदिशामा विप्लवसहितका नेताहरूले प्रश्न उठाए । संविधानसभा–२ को चुनावसम्म आउँदा विप्लवहरू तत्काल सशस्त्र संघर्षमा जाने सोचमा थिए ।
४. केन्द्रीय समिति र पोलिटब्युरोका निर्णयहरूको उल्लंघन र विरोध गर्ने कामलाई अन्त्यन्तै तीव्र पारियो । यस्ता गतिविधि पार्टी एकताको विरोध, गुटवाद र फुटवादमा आधारित थिए । विप्लवले पार्टीका महत्त्वपूर्ण बैठक पनि बहिष्कार गरे ।
५. कपिलवस्तुमा आफ्नो समूहका नेता–कार्यकर्ता जम्मा गरेर राष्ट्रिय भेला गर्न लागेका विप्लवलाई कार्यक्रम रोक्न पार्टीले निर्देशन दिए पनि उनले त्यसको अवज्ञा गरे । त्यहाँ उनले आफ्नो प्रस्ताव नै अनुमोदन गराए ।
६. सामान्यत: साताँै महाधिवेशनको आसपासदेखि नै समानान्तर गतिविधि सञ्चालन गर्दै आएकोमा सम्बन्धविच्छेदको आसपाससम्म आउँदा गोप्य भेलामार्फत पार्टीभित्र पार्टी, संगठनभित्र संगठन र संघर्षभित्र संघर्षको कार्यक्रम विप्लवले चलाएका थिए ।
७. केन्द्रीय समिति र पोलिटब्युरोको बैठकको निर्णयविपरीत भिन्न मतको प्रस्तावको नारा विप्लवले सार्वजनिक गरे र भिन्न मतको प्रस्तावलाई छपाएरसमेत बाँडे । पार्टीले अगाडि बढाएको सातमहिने कार्यक्रममा उनले असहयोगको नीति अगाडि सारे ।
८. पार्टीको मूल नेतृत्वको विरोधमा आन्तरिक र बाह्य रूपमा अभियान चलाएर विभाजनका लागि माहोल बनाउँदै लगे ।
९. पार्टी निर्णयविपरीत पत्रकार सम्मेलन गरे, त्यसपछि उनलाई स्पष्टीकरण सोधियो । तर, जवाफ दिएनन् । बरु अर्को पत्रकार सम्मेलन आयोजना गरेर उनले ‘पार्टी नेतृत्वको सल्लाहमा कपिलवस्तुमा भेला गरेको’ झुटो कुरा गरे ।
१०. आफ्नै प्रस्तावअनुसार बोलाइएको केन्द्रीय समितिको विस्तारित बैठकमा अन्तिम समयसम्म धैर्य गरेर बस्न नसक्नु, विभिन्न राजनीतिक प्रस्तावबारे महाधिवेशनबाट निष्कर्षमा पुग्ने निर्णय भएकै वेला पाँच–सात महिना पर्खन नसक्नुले विप्लव विचारधारात्मक बहस र जनवादी अभ्यासबाट पलायन भएको पुष्टि गर्छ । यसलाई राजनीतिक रूपमा हददर्जाको अदूरदर्शी चिन्तन र गैरजिम्मेवारीपन भन्न सकिन्छ ।
११. खुला र स्पष्ट होऊ, छलछाम र षड्यन्त्र नगर भन्ने माओको भनाइविपरीत विप्लवले काम गरे । उनको उद्देश्य स्पष्ट र खुलस्त रूपमा संगठन, नेतृत्व र कार्यदिशाको प्रश्नमा आफ्ना धारणा नराख्ने, बरु गलत ढंगले नेतृत्व र संगठन कब्जा गरेर आफ्नो काम अगाडि बढाउने कोसिस गरे ।
१२. आन्तरिक र बाह्य रूपमा पार्टी नेतृत्वको विरोध गरेर आफूलाई फरक देखाउन कोसिस गरे, उनले नेतृत्व असक्षम छ, बुढाहरू केही गर्न सक्दैनन्, नेतृत्व छद्म अवसरवाद, दक्षिणपन्थी अवसरवादको भासमा फस्दै छ भन्ने आरोप लगाएर दुष्प्रचार गरे ।
१३. पार्टीभित्र गुटबन्दी तथा समानान्तर गतिविधि गरेका विप्लवले पार्टी जिम्मेवारीको दुरुपयोग गरे । उनी पार्टीसचिव हुँदा पार्टीले दिएको काम, जिम्मेवारी पूरा गरेनन् । सामूहिक ढंगले जानुभन्दा व्यक्तिकेन्द्रित तरिकाले काम र गुटबन्दीलाई बढवा दिने उनको विशेषता रह्यो ।
१४. पार्टीमा रहँदा उनले अनुशासन र सांगठनिक मापदण्डलाई मिचिरहे । कार्यदिशा फरक भएपछि अनुशासन लाग्दैन भन्नेसम्मको गैरलेनिनवादी चिन्तन देखाए ।
१५. विप्लव समूहले षड्यन्त्रमूलक रूपमा गोप्य र खुला दुई लाइन संघर्ष चलाउँदा पनि त्यसलाई वेलैमा नियन्त्र गर्ने पहल गरिएन । त्यसो त उनले नेपालभित्र र बाहिर गएर पनि अपारदर्शी भेटघाट गरे ।
१६. विप्लवका गतिविधि सांगठनिक रूपमा अराजकतावादी व्यक्तिवाद, दार्शनिक रूपमा निषेधात्मक द्वन्द्ववाद तथा अनुभववाद र राजनीतिक रूपमा पश्चगामी सत्ता साझेदारीको रणनीतिमा आधारित थिए । उनका प्रस्ताव अति नै भ्रामक, अस्पष्ट र रहस्यमूलक छन् । उनको प्रस्तावमा राष्ट्रिय स्वाधीनताप्रतिको संवेदनशीलतामा कमी तथा भारतीय विस्तारवादपरस्तका लक्षण देखिए । समग्रमा उनी वामजस्तो देखिए पनि सारमा दक्षिणपन्थी अवसरवादउन्मुख छन् ।
१७. विप्लवले दुई लाइन संघर्षमा वाद तथा विवादमा मात्र जोड दिए । संवाद र रूपान्तरणको स्तरमा जान सकेनन् । दार्शनिक क्षेत्रमा यो निषेधात्मक द्वन्द्ववादी चरित्र हो । उनको एकीकृत क्रान्तिको सिद्धान्त नयाँ जनवादी क्रान्तिको राजनीतिक तथा फौजी कार्यदिशाको विरोधमा छ ।
१८. राजनीतिक अर्थशास्त्रको क्षेत्रमा पनि विप्लवमा समस्या छ । उनले एकातिर नेपाली जनवादी क्रान्तिका लागि मजदुर, किसान वर्गको भूमिकालाई गौण स्थानमा राखी मध्यम वर्गको भूमिकामाथि विशेष जोड दिएका छन् भने अर्कोतिर अन्तर्राष्ट्रिय क्षेत्रमा यसले साम्राज्यवाद र विस्तारवादसितको प्रश्नलाई नकारेका छन् । वैज्ञानिक समाजवादको क्षेत्रमा पनि उनीमा समस्या छ ।
१९. विप्लवमा निम्न पुँजीवादी मानसिकता, चरम व्यक्तिवादी महत्त्वाकांक्षा, क्रान्तिकारी धैर्यको अभाव, शीघ्र विजयको मानसिकता, अस्थिरता तथा ढुलमूलपनजस्ता लाक्षणिक विशेषता छन् । यो चिन्तन तथा अभिव्यक्तिलाई वाम रूपमा अभिव्यक्त दक्षिणपन्थी विलचनका रूपमा बुझ्नु राम्रो हुन्छ ।
२०. विप्लवले नेकपा–माओवादीको कार्यदिशा सारसंग्रहवादी छ, जनयुद्धको जग स्पष्ट छैन, नेतृत्व गम्भीर रूपमा जनविद्रोहको तयारीमा लागेन, जनयुद्धको जग भत्किइसकेको छ, पार्टी फुटको औचित्य पुष्टि गर्न सकिएन जस्ता आरोप लगाउने गरेका छन् । यो उनको कार्यदिशा बुझाइको अभाव हो ।
