Friday, September 7, 2018
Home > राष्ट्रिय > लन्डनमा नेपाली सेनाका कर्णेल लामाको सुनुवाई सुरू

लन्डनमा नेपाली सेनाका कर्णेल लामाको सुनुवाई सुरू

केस ओपनिङ सँगै पर सर्‍यो

लन्डन, १३फागुन – नेपालमा भएको सरकार माओवादी युद्दकालमा बन्दी यातनाको अभियोगमा बेलायतमा पक्राउ परेर मुद्दा खेपिरहेका नेपाली सेनाका कर्णेल कुमार लामाको मुद्दामाथिको मंगलबारको सुनुवाई अदालतीय औपचारिक प्रक्रियाको सुरुवातसँगै सकिएको छ।

लण्डनको ओल्ड बेलीस्थित सेन्ट्रल क्रिमिनल कोर्टमा मंगलबार बिहान दश बजे सुरू गरिएको सुनुवाई केहि प्राविधिक कार्यको तयारीसँगै स्थगन गरिएको छ ।

यसअघि मंगलबारबाट पूर्ण ईजलासको सुनुवाई तय भएको बताईए पनि प्राविधिक कारणबस यसै साताको अन्त्यसम्म जुरीलाई पूर्णता दिएपछि मात्रै अभियोग माथिको सुनुवाई अघि बढाईने छ।

अपेक्षाकृत रूपमा मुद्दा अगाडि बढन सकेमा आगामी ६ हप्ता सम्ममा फैसला हुने अनुमान गरिएको छ। यदी अपराध सावित भएमा जन्म कैद सम्मको सजाय हुन् सक्ने कानुनी प्रावधान छ ।

२०१३ को जनवरीमा बेलायतमा पक्राउ परेका लामा धरौटीमा रिहा भए पश्चात मुद्दाको तारिख बोकिरहेका छन। उनलाई मुद्दाको किनारा लाग्नु अघि बेलायत छाड्ने अनुमति भने छैन । उनलाई बेलायतको क्रिमिनल जस्टिस एक्ट (ऎन) अन्तर्गत पक्राउ गरिएको हो। २००५ को मे महिनामा नेपालमा कपिलवस्तुको गोरुसिंगे आर्मी ब्यारेकको इन्चार्ज रहँदा त्यहाँ बन्दी बनाइएका जनक बहादुर राउत र करम हुसेनमाथि चरम शारीरिक यातना दिएको अभियोग कर्णेल लामा माथि छ ।

बिभिन्न मानव अधिकारवादी संस्थाहरुले उनको गृहफ्तारीको स्वागत गर्दै आएका छन् भने नेपाल सरकारका तर्फबाट यसको बिरोध भएको छ। यसअघि नेपाल र बेलायत सरकारको कुटनीतिक तहमा पनि अदालत बाहिरैबाट मुद्दाको किनारा लगाउने सम्बन्धमा छलफल भएपनि बेलायतले अदालती कारवाही भन्दा माथि जान नमिल्ने भन्दै अस्वीकार गरेको हो।
सुरूवातमा लामाको मुद्दा लड्न लाग्ने रकम नेपाल सरकारले उपलब्ध बनाउने भनिए पनि अत्यन्तै चर्को फी धान्न नसक्ने भन्दै सो सरकारी सहयोग उपलब्ध नहुने भएपछी बेलायत सरकारको सार्वजनिक रकम अन्तर्गतको लिगल एडको सहयोगमा मुद्दा लडीरहेका छन ।

बेलायतका लागि कार्यबाहक राजदूत तेजबहादुर क्षेत्रीले उनको सुनुवाई सम्बन्धी जिज्ञासामा कर्णेल लामाको मंगलबारको सुनुवाइको जानकारी रहेको बताए ।

नेपालकै एउटा जिल्ला अदालतमा मुद्दा चलेर सजाय भोगिसकेको व्यक्तिलाई पुन अदालती कारवाहीमा ल्याईनु अन्याय पूर्ण रहेको कतिपयको तर्क छ भने कसैले यसलाई नेपालको सार्वभौमिकता माथिको उल्लङ्घन पनि भन्ने गरेका छन। लामा नेपाली सेनाको ईतिहासमै बिदेशमा युद्द अपराध सम्बन्धि मुद्दा बेहोर्ने पहिलो अधिकारी हुन ।

लामालाई यातना बिरुद्दको अन्तराष्ट्रिय महासन्धि कन्भेन्सन अगेन्स्ट टर्चर अन्तर्गत पक्राउ गरिएको थियो । नेपाल सहित विश्वका १५४ देशले यो सन्धिमा हस्ताक्षर गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *