Monday, September 3, 2018
Home > राष्ट्रिय > राजधानीका ज्यानमारा भ्वाङहरू

राजधानीका ज्यानमारा भ्वाङहरू

काठमाडौं : मुलुककै राजधानी रहेको काठमाडौं महानगरपालिका र आसपासका नगरपालिकाका जनप्रतिनिधिले नगरलाई अत्याधुनिक र अन्तर्राष्ट्रियस्तरको बनाउनेलगायत मीठा कुरा गरेका छन् । कसैले ‘स्मार्ट सिटी’ र ‘स्याटेलाइट सिटी’ त कसैले ‘मोनोरेल’ सञ्चालन र फ्लाइओभर निर्माण, कसैले निशुल्क वाइफाईको व्यवस्थाजस्ता आश्वासन दिएर नगरलाई सुविधासम्पन्न बनाउने सपना बाँड्न भ्याइसके । तर, काठमाडौं महानगरपालिकाकै बासिन्दा धूवाँ-धूलो, हिलो र ढलबाट मुक्त हुन सकेका छैनन् ।

ढल व्यवस्थित गर्न नसक्दा पानी पर्नासाथ सडक नै पोखरीजस्तो बन्ने अनि यात्रु नालीमा डुब्ने मात्र होइन, ज्यानै जानेसम्मका घटना भइरहेका छन् । सडक निर्माणका क्रममा महिनौंदेखि त्यत्तिकै राखिएका ठूल्ठूला भ्वाङ नागरिकका लागि ‘एम्बुस’जस्ता बनेका छन् । विद्यालयबाट फर्किंदै गरेकी छात्रा सत्या सापकोटा सडककै भेलमा झुक्किएर नालीमा पसिन् । झन्डै सय मिटर परसम्म लेदोपानीसँगै बगेकी सत्याले हात हल्लाएपछि स्थानीयले उद्धार गरे । सत्या त बाँच्न सफल भइन् तर खेल्दा-खेल्दै ढलमा परेकी नेपालटारकी ११ वर्षीया विनीता फुयाँलले ज्यानै गुमाउनुपर्‍यो । शुक्रबारका यी दुई घटना राजधानीभित्रका प्रतिनिधि मात्र हुन् । यस्ता दर्जनौं घटना बर्सेनि भइरहेका छन् तर स्थानीय निकायदेखि केन्द्र सरकारसम्म मूकदर्शक बनिरहेका छन् ।

विगतमा कर्मचारीले मात्र थेगेको स्थानीय निकाय अहिले तह भएपछि जनप्रतिनिधि निर्वाचित भएर आइसकेका छन् । उनीहरूले जनतालाई विकासका थुप्रै आश्वासन बाँडिसकेका छन् । तर, सडकका खाल्डाखुल्डीसम्म नपुर्दा ज्यानै गुमाउनुपर्ने नगरवासीको पीडामा मह्लम लगाउन जनप्रतिनिधि पनि चुकेका छन् । सपना ठूल्ठूला देखाउने तर बजेट छुट्ट्याएका योजनासमेत समयमै पूरा नगर्ने प्रवृत्तिले नागरिक मारमा परिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *