पोखरा । निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको पहिलो चरणअन्तर्गत माटो सम्याउने काम सुरु भएको छ । विमानस्थलको निर्माण सुरु भएको करिव ५ महिनामा ५ प्रतिशत काम सम्पन्न भएको छ ।
चिनियाँ निर्माण कम्पनी सीएमसीईले ११ अगस्त २०१७ बाट यो विमानस्थल निर्माण सुरु गरेको हो । सन् २०२१ जुलाई १० मा विमानस्थल निर्माण कार्य सम्पन्न गरी नेपाल सरकारलाई हस्तान्तरण गर्ने सम्झौता अनुरुप काम भइरहेको छ ।

पहिलो चरणमा जमिन कटान र सम्याउने काम गरिरहेको चिनियाँ ठेकेदार कम्पनी सीएएमसीईको टोलीले पाँच प्रतिशत काम सकिसकेको आयोजना प्रमुख विनेश मुनकर्मीले अनलाइनखबरलाई बताए ।
चीनको एक्जिम बैंकको करिब २२ अर्ब रुपैयाँ ऋणमा विमानस्थल बन्न लागेको हो ।
पूर्वप्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका बेला दुई देशबीच ऋण सम्झौता भएर निर्माणको प्रक्रिया अघि बढेको थियो ।
विमानस्थल शिलान्यास भएको साढे १६ महिनापछि गत साउन १८ देखि निर्माणको काम सुरु भएको हो ।
अहिले यहाँ जमीन सम्याउन ट्रिपर २६, एक्साभेटर ६, डोजर ३ र रोलर ४ वटा प्रयोग भइरहेको छ ।
अन्तराष्ट्रिय उड्डयनका लागि आईकाओको मादण्डअनुसार फोर डी मोडलमा पर्ने पोखरा विमानस्थल निर्माण पूरा भएपछि बोइङ ७५७ र एयरबस ३२० वा सो सरहका जहाज आउजाउ गर्न सक्नेछन् ।
लगभग २५ सय मिटर लामो धावनमार्ग हुने विमानस्थलमा अवतरण र उडान हुने ती विमानको यात्रु क्षमता २ सयसम्म हुनेछ ।
पोखरामा बन्ने अन्तरर्राष्ट्रिय विमानस्थलले प्रदेश नम्बर ४ को मात्रै नभएर सिंगै देशको पर्यटकीय विकासमा टेवा पुग्ने विश्लेषण गरिँदै आएको छ ।




