Friday, September 7, 2018
Home > मनोरञ्जन > मिस नेपाल विवाद र सौन्दर्यको लफडाः को हुन् निकिता ?

मिस नेपाल विवाद र सौन्दर्यको लफडाः को हुन् निकिता ?

काठमाडौं । जब कुनै नवयौवनाको शीरमा ‘मिस नेपाल’को ताज पहिर्‍याइन्छ, ग्ल्यामर समाज पक्ष र विपक्षमा खडा हुन्छ । शीर्ष उपाधि जित्नेको चर्चाका साथसाथै आलोचना पनि हुन थाल्छ । २३ बर्षअघि सुरु भएको मिस नेपालको यो श्रृंखला आजको मितिसम्म कुनै न कुनै लफडाबाट गुजि्रएको छ ।

अघिल्लो बर्ष अश्मि श्रेष्ठले मिस नेपालको शीर्ष ताज पहिरिँदै गर्दा ‘मिस नेपाल कि, मिस नेवार’, ‘सर्वश्रेष्ठ हुनुपर्ने कि, श्रेष्ठ’ जस्ता आलोचनाका स्वर चर्किए । २० औं संस्करणको त्यो मिस नेपालसम्म नेवार समुदायकै बाहुल्य हुनुले पनि ‘जातीय लेपन’ लगाएर विरोध भएको थियो, जो अस्वाभाविक थिएन ।

तर, नेवार भएकैले उनीहरु मिस नेपाल भएकी हुन् कि, सुन्दरता, बौद्धिकता, प्रस्तुतीको तराजुमा जोखिएर ? यसमा खासै बहस भएन ।

पूर्व मिस नेपाल मलिना जोशीको टिप्पणी यस्तो छ, ‘मलाई लाग्दैन कि, कसैले जातीयताकै कारण ताज जितेका हुन् । उनीहरुको सहभागिता, प्रस्तुती सबै कुरालाई मूल्यांकन गरिएको हुन्छ ।’

निकिता पनि विवादमा

यसपालि नेवारको बर्चश्व तोड्दै मिस नेपालको ताज तराईकी मारवाडी चेलीको शीरमा पुगेको छ । तर, बिरोधको आवाज मत्थर भएको छैन । बरु झन् चर्किएको छ ।

शुक्रबार राति मिस नेपालमा मोरङकी निकिता चन्दकको नाम उद्घोष भएसँगै जति खुशी र समर्थनका ताली बजे, उति नै बिरोधका आवाज पनि गुञ्जिए ।

खासगरी निकिताको रुपरंगमाथि कटू टिप्पणी गरिए । निकितालाई ‘भारतीय’को ट्याग पनि भिराइयो । छालाको रंग, समुदाय, भूगोलकै आधारमा उनी ‘मिस नेपाल’की अयोग्य हुन् त ? यस्ता साम्प्रदायिक तर्कले पनि यतिबेला ठाउा पाएको छ ।

‘हरेक मिस नेपालको घोषणासँगै बिरोध हुन्छ, जसलाई हामीले अनौठो र दुर्लभ मान्नुपर्ने कारण छैन’ पूर्व मिस नेपाल जोशी भन्छिन् ।

जोशीका अनुसार प्रतियोगितामा एकजनाले जित्ने हो । बाँकी प्रतियोगीका समर्थकले त्यसमा चित्त नबुझाउन सक्छन् । यसरी ‘चित्त नबुझाउनेहरुको’ ठूलो जत्थाले कुनै न कुनै कोणबाट आफ्नो तीतो पोख्ने गर्छन् ।

मलिनालाई लाग्छ, निकितामा ती सबै गुण छन्, जो एउटा मिस नेपालमा हुनुपर्छ । ‘निकिता ब्युटीफूल छिन्, फ्र्यांक छिन्, वौद्धिक छिन्’ मलिना भन्छिन्, ‘समग्र रुपमा उनले आफूलाई अब्बल सावित गरेर नै उपाधि जितेकी हुन्, कसैले कृपा गरेर होइन ।’

निकिताजस्तै फरक समुदाय, वर्ग, भूगोलको सहभागिता बढाउन हौसला दिनुपर्नेमा नानाथरी गाली गरेर मनोवल गिराउने काम भएकोमा मलिनाले खेद जनाइन् । भनिन्, ‘हामीले उत्प्रेरणा दिनुपर्ने ठाउँमा, उल्टै निरुत्साहित गरिरहेका छौं, यो सही होइन ।’

जब निकिताले ताज पहिरिन्, उनको नाममा क्षेत्रीयकरण गरियो । ‘मधेसकी छोरी’ भन्दै । यही शब्दावलीले पनि कतिलाई बिझायो । यसरी भूगोल, समुदाय, वर्ण र क्षेत्रको फ्रेम पहिरिएर गरिने टीका-टिप्पणीले निकिताको प्रस्तुती र क्षमतालाई छाँयामा पार्‍यो । १९ जना प्रतियोगीलाई उनले कसरी उछिनिन् भन्ने गहिराइमा पुग्ने हो भने यस्ता विवादहरुले तार्किक निकास पाउथे होलान् ।

सधैं विवादमा पर्छ सुन्दरी प्रतियोगिता

हरेक कुरालाई साँघुरो कोणबाट लेखाजोखा गर्ने र विभेदपूर्ण ढंगले टिप्पणी गर्ने प्रवृत्तिको भूावरीमा नपर्ने कुरै भएन, सुन्दरी प्रतियोगिता । विश्व सुन्दरी प्रतियोगिता होस् वा ब्रम्हान्ड सुन्दरी, विवादमुक्त छैनन् । किनभने सौन्दर्यको नापतौल कुनै गणितीय योगफल जस्तै सर्वमान्य र सर्वस्वीकार्य हुँदैन । त्यस्तो साझा इकाई पनि छैन, जसले सुन्दरताको लम्बाई, चौडाई, उचाई नाप्छ ।

त्यसैले सौन्दर्य प्रतियोगिताहरु विवादित हुनु अस्वभाविक होइन । तर, प्रतियोगिको रंग, वर्ण र समुदायमाथि गरिने तीखो टीका-टिप्पणी भद्दा हुन्छ, अरुचीकर हुन्छ । यसले सामाजिक सद्भावलाई नराम्ररी दुई चिरा पार्छ ।

मिस नेपाल भएपछि एक अन्तरवार्तामा निकिताले भनेकी छिन्, ‘मारवाडी भन्नसाथ इन्डियन फिचर त भइहाल्छ । तर, मैले विश्व सुन्दरी प्रतियोगितामा नेपालबाट प्रतिनिधित्व गर्नेछु । यसकारण म नेपालभरकी प्रतिनिधि हुँ ।’

को हुन निकिता ?

निकिताले भारतको राजस्थानबाट १२ कक्षाको अध्ययन पूरा गरिन् । त्यसअघि उनी उर्लाबारीको मोरङ मोडल र पशुपति आवासीय माविमा पढ्थिन् ।

उनले बैंग्लोरस्थित जेडी इन्ष्टिच्युट अफ फेसन टेक्नोलोजीमा ग्राजुएसन गर्दै फेशन शोहरुमा सहभागी भइन् । उनले पुणे फेसन विक-२०१६, केरला फेसन विक २०१६, द विडिङ हाउस शो जस्ता फेशन शोहरुमा र्‍याम्प नापेकी छिन् ।

अनिल र सुष्मा चण्डककी छोरी उनी अभिनय र गायनमा सानैदेखि लगाव राख्ने गरेको बताइन्छ । २२ वषर्ीया नीकिताको उचाई ५ फिट ९ इञ्च छ ।

को कहिले भए मिस नेपाल ?

रुवी राणा – सन् १९९४
सुमी खड्का – १९९५
पुनम घिमिरे- १९९६
निलिमा गुरुङ- १९९७
निरु श्रेष्ठ- १९९८
श्वेता सिंह-१९९९
माल्भिका सुब्बा- २०००
प्रीति सिटौला- २००३
पायल शाकय-२००४
सुगारिका केसी- २००५
शिताष्मा चन्द- २००७
जेनिशा मोक्तान- २००९
सदीक्षा श्रेष्ठ- २०१०
मलिना जोशी-२०११
सृष्टि श्रेष्ठ- २०१२
इसानी श्रेष्ठ- २०१३
सुविन लिम्बु- २०१४
इभाना मानन्धर- २०१५
अश्मि श्रेष्ठ- २०१६
निकिता चन्डक-२०१७

Leave a Reply

Your email address will not be published. Required fields are marked *