दलाई लामाले भने- फ्री तिब्बत त्यागिसकें, म मार्क्सवादी हुँ
काठमाडौं । तिब्बतका निर्वासित धार्मिक नेता दलाई लामाले आफूले माओ त्से तुङका पालामा कम्युनिस्ट पार्टीको सदस्यता लिन चाहेको खुलासा गरेका छन् । चीनमा कम्युनिस्ट शासन स्थापना भएर तिब्बत चीनको स्वशासित क्षेत्र बनेपछि निर्वासित भएका दलाई लामाले आफू माओ लगायत त्यसबेलाका चिनियाँ कम्युनिस्ट नेताबाट प्रभावित भएको समेत बताएका छन् ।

आफ्नो ८० औं जन्म जयन्तिका अवसरमा इण्डिया टुडे म्यागेजिनलाई दिएको अन्तर्वार्तामा दलाई लामा भन्छन्- जब पहिलोपटक माओ लगायत अन्य अधिकारीहरुसँग पेकिङमा भेट भयो, त्यसबेला म साँच्चिकै माओसँग प्रभावित भएको थिएँ । म यति प्रभावित थिएँ कि मैले चिनियाँ कम्युनिस्ट पार्टीको सदस्य बन्ने इच्छा जाहेर गरेको थिएँ ।
दलाई लामाले आफू मार्क्सवादी भएको पनि खुलास गरेका छन् । अन्तर्वार्ताका क्रममा दलाई भन्छन्- जहाँसम्म सामाजिक आर्थिक नीतिको कुरा छ, म मार्क्सवादी हुँ, यो कुनै लुकाउने कुरा छैन, तर म लेनिनवादको बिल्कुलै विपक्षमा छु ।
फ्री तिब्बत त्यागिसकें
फ्री तब्बत अभियान चलाउँदै भारतको हिमाञ्चलस्थित धर्मशालामा निर्वासित सरकार चलाइरहेका दलाई लामाले अब आफूले तिब्बतलाई स्वतन्त्र बनाउने एजेण्डा त्यागिसकेको बताएका छन् ।
दलाई लामाले चीन खुला दिमागवाला कम्युनिस्ट देश बन्ने अपेक्षा आफूले राखेको बताएका छन् ।
दलाई लामाले चिनिया राष्ट्रपति तथा त्यहाँका शीर्षस्थ कम्युनिस्ट नेताहरुसँग भेट्ने इच्छासमेत जाहेर गरेका छन् । तर आफूसँग भेट्न चिनियाँ नेताले नचाहेको दुःखेसो उनले व्यक्त गरेका छन् ।
एक सय वर्ष बाँच्ने घोषणा
सोही अन्तरवार्ताको अर्को एक प्रसंगमा दलाई लामाले आफू ११३ वर्ष बाँच्ने सपना देखे पनि पछिल्लो समयमा थकान महशुस हुन थालेको बताएका छन् । धर्मशालामा दलाईको जन्मदिनका अवसरमा भिक्षुहरुले उनी ११३ वर्ष बाँचुन् भन्दै प्रार्थना गरेका थिए ।
यसबारे प्रष्ट पार्दै दलाई लामाले भनेका छन्- मैले एउटा सपना देखेको थिएँ कि म १ सय १३ सम्म बाँच्छु । तर, अब मलाई थकान महशुस हुन थालेको छ ।
दलाईले आफ्नो आयु एक सय वर्षको हुन सक्ने बताएका छन् । उनी भन्छन्-धर्मशालामा मैले भनेको थिएँ कि पहिले ९० वर्ष र पछि एक सय वर्षसम्म बाँच्ने कामना गर्छु, तर त्योभन्दा बढी उमेरमा मलाई सन्देह छ ।
ताइवान र तिब्बतका जो चिकित्सक मेरो शारीरिक अवस्थाको जाँच गरिरहेका छन्, उनीहरुका अनुसार म १ सय वर्षसम्म बाँच्न सम्भावना धेरै छ ।
उत्तराधिकारीबारे
उनले आफूपछिको १५ औं दलाई लामाका बारेमा आफूले कुनै निर्णय नगर्ने पनि प्रष्ट पारेका छन् । ‘१५ औं दलाई लामाको चिन्ता मलाई भन्दा ज्यादा चीन सरकारलाई छ, कहिले काहिँ हाँसो ठट्टाका क्रममा भन्ने गर्छु, यो ६ सय वर्षदेखि चली आएको परम्पराको अन्त्य १४ औं दलाई लामाको मृत्युसँगै होस् ।
