महोत्तरी । नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ (ल्ल्म्क्ध्इ)जिल्ला कार्य समिति महोत्तरीले जिल्लाका २४ दलित छात्राहरुलाई छात्रवृति प्रदान गरेको छ ।
जिल्लाको सदरमुकाम जलेश्वरमा आयोजित छात्रवृति कार्यक्रममा नेपाल छात्रवृति कार्यक्रम अन्तर्गत सेभ द चिल्डे«न र नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ जिल्ला कार्य समिति महोत्तरीको संयुक्त साझेदारीमा जिल्लाका विभिन्न ८ वटा विद्यालयका २४ दलित छात्राहरुको छनौट गरी उनीहरुलाई पहिलो तीन महिनाको छात्रवृति वितरण गरिएको संघका कार्यक्रम अधिकृत प्रेम जैरुले बताउनुभयो ।
संघले जिल्लाका मटिहानी, सिमरदही, पर्सापतैली, सुगा, महोत्तरी, पिपरा र जलेश्वर स्थित कन्या मावि गरी ८ विद्यालयका दलित छात्राहरुलाई छात्रवृति वितरण गरेको छ ।
संघले कक्षा १ देखि ८ सम्म अध्ययन गर्ने ४ जना छात्रालाई जोखिम छात्रवृति जनही ५०० का दरले, कक्षा ६ देखि ८ सम्म अध्ययन गर्ने १६ जना छात्राहरुलाई विशेष लक्षित छात्रवृति जनही १,२०० दरले, कक्षा ९ र १० मा अध्ययनरत ३ जना छात्रालाई विशेष लक्षित छात्रवृति जनही १५ सयका दरले र कक्षा ८ देखि ९ मा पढ्ने १ जना छात्रालाई जोखिम छात्रवृति १,८०० रुपैया वितरण गरेको संघका कार्यक्रम अधिकृत जैरुले बताउनुभयो ।
संघले आयोजना गरेको छात्रवृति कार्यक्रममा जिल्ला शिक्षा कार्यालय महोत्तरीका प्रतिनिधि अरुण पाठक, महिला तथा बालबालिका कार्यालय महोत्तरीका प्रतिनिधि सुनिता भट्टराई लगायतका उपस्थिति रहेको थियो ।
छात्रवृति प्रदान कार्यक्रमको अध्यक्षता नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ जिल्ला कार्य समिति महोत्तरीका अध्यक्ष बिक्रम पासवानको अध्यक्षतामा सम्पन्न भएको थियो ।
