आगामी प्रतिनीधिसभा निर्वाचनमा धनुषा क्षेत्र नम्बर ३ का उम्मेद्धार राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले विगतमा जस्तो मधेसी जनताको मतको दुरुपयोग रोक्न आफू यस क्षेत्रबाट चुनाव लडेको बताएका छन् । संचारकर्मीसँगको कुराकानीमा नेता महतोले आगामी निर्वाचनलाई आन्दोलनकै रुपमा लिंदै आन्दोदन र मधेसकै केन्द्रविन्दु भएकाले धनुषा क्षेत्र नम्बर ३ बाटै उम्मेदवारी दिएको बताए ।
मधेशीको मत लिएर मधेशीकै अधिकार खोस्ने नेतामाथि प्रहार गर्नका लागि आफू धनुषा क्षेत्र नम्बर ३ बाट चुनाव लड्न लागेको नेता महतोको भनाई छ । ‘मधेशको भोट लिएर मधेशीलाई नै समाप्त गर्ने नेताहरुले विगतमा यही क्षेत्रबाट प्रतिनिधित्व गएका थिए, महतोले भने —मधेशी जनताको भोटको दुरुपयोग गर्ने काम विगतमा यहि क्षेत्रका प्रतिनिधिले गरेकाले यसपटक त्यसलाई तोड्नका लागि म उम्मेदवार बनेको हुँ ।’ आफ्ना प्रतिस्पर्धी कांग्रेसका विमलेन्द्र निधिविरुद्ध आक्रामक बनेका नेता महतोले निधीले कांग्रेस पार्टीभित्र मधेशको ठेक्का र मधेशीको भोट समेत लिएर त्यसलाई मधेशकै विरुद्धमा प्रयोग गर्ने काम गरेको आरोप लगाए ।
‘संविधान निर्माणमा हस्ताक्षर गर्ने र गराउने पनि उहाँ नै हो, महतोले भने —मधेशीले संविधानमा अधिकार नपाउनुमा निधीकै भूमिका छ ।’ मधेशीका नाममा निधिले गरेका कामको हिसाब किताब लिने बेला आएको महतोको भनाई छ । यसपटक जनताले आन्दोलनको पक्षमा मतदान गर्ने दाबी गर्दै उनले व्यक्तिगत रिसिबीको सवाल नरहेको तर मधेशी जनताको अधिकार खोस्ने, गोली ठोक्ने र मधेशीको विरुद्धमा संविधान बनाउने त निधी नै रहेको आरोप लगाए ।
लोकतान्त्रिक गठबन्धनको कुरा भएर पनि काम नभएको भन्दै महतोले भने ‘लोकतान्त्रिक गठबन्धन बन्न नसक्नु पनि विमलेन्द्र निधीको दोष छ ।’ आफूहरुको लडाँई मेचीदेखि महाकालीसम्मका मधेशी जनताका लागि भएको भन्दै महतोले जहाँ मधेशीलाई धेरै अत्याचार गरिन्छ, त्यहाँ लडाई केन्द्रित हुने उल्लेख गरेका छन् ।
