Friday, September 7, 2018
Home > अर्थ > भूकम्पले निजी क्षेत्रमा एक खर्ब बढी घाटा

भूकम्पले निजी क्षेत्रमा एक खर्ब बढी घाटा

काठमाडौं । विनाशकारी भूकम्पले सिन्धुपाल्चोकमा रहेको भोटेकोशी जलविद्युत आयोजना बगरमा परिणत भयो । ४५ मेगावाटको यस आयोजनामा करिव ५ अर्बको भौतिक क्षति भएको दाबी छ । सञ्चालनमा ल्याउन वर्ष दिन लाग्ने बताइएको यस आयोजनामा एक अर्ब बढी आम्दानीसमेत गुम्नेछ ।

यसैगरी औषधि उद्योग देउराली जनता फर्मास्यूटीकल्समा २२ देखि २५ करोडको क्षति भएको छ । त्यो भन्दा बढी क्षति अब हुने व्यवसायमा परेको उद्योगका प्रबन्ध निर्देशक हरिभक्त शर्मा बताउँछन् ।

२०७२ सालको भूकम्प पश्चातका दृश्यहरु
२०७२ सालको भूकम्प पश्चातका दृश्यहरु

यी त प्रतिनिधि उदाहरण मात्र हुन् । अधिकांश उद्योगहरु तराई क्षेत्रमा रहेको हुँदा भौतिक क्षति कम भएको बताइन्छ । तर, कुल उत्पादनको एक तिहाई माग हुने काठमाडौं उपत्यका क्षतविक्षत भएको हुँदा व्यापारमा ठूलो असर पर्ने व्यवसायीको अनुमान छ ।

यता जलविद्युत, हाउजिङ व्यवसाय र शिक्षण संस्थामा भने भूकम्पले ठूलो भौतिक क्षति पुर्‍याएको छ । जलविद्युतमा सरकारी निजी गरी करिव १७ अर्ब रुपैयाँको क्षति भएको छ भने निजी शिक्षण संस्थामा दुई अर्ब र हाउजिङ व्यवसायमा १५ अर्ब रुपैयाँ बराबरको भौतिक क्षति भएको दाबी छ ।

२०७२ सालको भूकम्प पश्चातका दृश्यहरु
२०७२ सालको भूकम्प पश्चातका दृश्यहरु

यसैगरी राजधानीसहित विभिन्न जिल्लामा रहेका खुद्रा पसल र साना तथा मझौला उद्योगमा भएको क्षतिको यकिन तथ्यांक आउनै बाँकी छ । ‘भूकम्पबाट भौतिक क्षति यति नै भयो भनेर भन्न सकिँदैन’ नेपाल उद्योग वाणिज्य महासंघका कार्यबाहक अध्यक्ष पशुपति मुरारकाले भने- ‘उद्योग व्यवसायमा जति भौतिक क्षति भएको छ, त्यो भन्दा कैयौं गुना बढी व्यापार गुमेको छ ।’

कतिपय उद्योग तथा आयोजनाहरु मर्मत गरेर सञ्चालन गर्न समय लाग्ने हुँदा बिजनेश गुमाउने अवस्था छ भने कतिपय उद्योगबाट उत्पादिन वस्तुको माग नै घटेको छ । ‘एकातिर ठूलो रकम खर्चेर भौतिक संरचना मर्मत गर्नुपर्ने छ, अर्कोतिर नियमित हुने आम्दानी पनि गुमिरहेको छ’ मुरारका भन्छन् ।

भूकम्पपछि घर छाउने जस्तापाता र चिउरा चाउचाउ बाहेक अन्य वस्तुको माग ५० प्रतिशतभन्दा बढीले घटेको व्यवसायीको गुनासो छ । राजधानीको विकास निर्माण ठप्प हुँदा सिमेन्ट र छडको समेत माग हृवात्तै घटेको व्यवसायीको भनाइ छ ।

२०७२ सालको भूकम्प पश्चातका दृश्यहरु
२०७२ सालको भूकम्प पश्चातका दृश्यहरु

‘भूकम्पले देउराली जनताको स्टोरेज ध्वस्त भयो, फिनिसिङ तथा कच्चा पदार्थ बिगि्रयो, उद्योगको प्रविधि नै ब्रेकडाउन भएको छ’ नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्षसमेत रहेका शर्माले भने- ‘उद्योगको सिष्टम विदेशमा लगेर मर्मत गर्नुपर्ने हुँदा उद्योगलाई पूर्ण क्षमतामा चलाउन समय लाग्छ ।’

महासंघको उद्योग समितिका सभापति उमेशलाल श्रेष्ठ भूकम्पले आन्तरिक खुद्रा व्यापार र निर्यात व्यापार ध्वस्त भएको बताउँछन् । ‘कतिपय उद्योग भत्किएर सञ्चालन हुन सकेका छैनन् भने कतिपय उद्योगमा कामदार नै छैनन्’ उनले भने- ‘उत्पादित वस्तुले पनि बजार पाउने अवस्था छैन्, बजारमा माग ५० प्रतिशतले घटेको छ ।’
सरकारले निजी क्षेत्रको उत्पादन खरिद गरिदिएमा उद्योग चलाउन सकिने बताउँदै श्रेष्ठले अन्यथा जीडीपीमा उद्योग क्षेत्रको योगदान ६ प्रतिशतबाट पनि तल झर्ने ठोकुवा गरे ।

त्यसो त भूकम्पको डरले कामदार घर गएर नफर्किएपछि धेरैजसो उद्योग व्यवसायहरु मर्कामा परेका छन् । कामदार नहुँदा उद्योगहरुले उत्पादनसमेत घटाउनुपरेको छ ।

यस्तो छ क्षेत्रगत भौतिक क्षति

‘भूकम्पले साना-ठूला उद्योग भत्किएका छन्, विद्युतगृह पुरिँदा ८५ मेगावाट उत्पादन बन्द भएको छ, कतिपय आयोजनाको काम बन्द छ, मिडियामा विज्ञापन घटिसकेको छ’ मुरारकाले भने- ‘माग घटेपछि कुखुरा व्यवसायीले अण्डाको भाउ समेत घटाउन बाध्य भए ।’
त्यसो त व्यवसायीहरुको तातोपानी र रसुवागढीमा मालबाहक कन्टेनर पुरिँदा धेरै क्षति पुगेको छ । अहिले पनि खासा क्षेत्रमा धेरै कन्टेनर अडि्कएका छन् ।

२०७२ सालको भूकम्प पश्चातका दृश्यहरु
२०७२ सालको भूकम्प पश्चातका दृश्यहरु

उद्योग क्षेत्र

परिसंघका वरिष्ठ उपाध्यक्ष हरिभक्त शर्माका अनुसार उद्योग क्षेत्रमा १० अर्ब बढीको भौतिक क्षति भएको छ । उनका अनुसार परिसंघमा आवद्ध ४०/४२ ठूला उद्योगमा क्षति पुगेको छ । ‘तर, ५०औं अर्बको बिजनेश गुमेको छ’ शर्माले भने ।
खासगरी उद्योगहरु तराई भेगमा भएको हुँदा कम भौतिक क्षति कम हुन गएको हो । भूकम्पबाट उद्योगहरुको भवन तथा मेसिनमा क्षति पुगेको छ । ठूला उद्योगमा भन्दा काठमाडौं तथा ग्रामीण क्षेत्रमा रहेका साना तथा मझौला उद्योगहरु भूकम्पको मारमा परेको बताइन्छ ।

२०७२ सालको भूकम्प पश्चातका दृश्यहरु
२०७२ सालको भूकम्प पश्चातका दृश्यहरु

पर्यटन

भूकम्पको सबैभन्दा ठूलो प्रभाव पर्यटन क्षेत्रमा परेको छ । भूकम्पले पर्यटनमा दीर्घकालीन असर परेको पाटा नेपाल च्याप्टरका अध्यक्ष सुमन पाण्डे बताउँछन् । वैशाखदेखि असोजसम्म करिब १० अर्ब रुपैयाँभन्दा बढी आम्दानी गुमेको उनको भनाइ छ ।
भूकम्पले काठमाडौं नगरकोट, लाङटाङ, मनास्लु, दोलखा, खुम्बु क्षेत्रका होटल तथा ट्रेकिङ लजहरु बस्नै नमिल्ने गरी भत्किएका छन् ।
राजधानीमा रहेको क्यासिनो अन्नाको भवन पुरै भत्किएको छ । पाँचतारे एभरेष्ट होटलमा रातो स्टिकर टाँसेपछि खालि भएको छ । त्यस्तै, ठमेलको बिजनेश होटल, काठमाडौं गेष्ट हाउस र गोकर्ण फरेष्ट रिसोर्टको एउटा/एउटा ब्लक, धुलिखेलको होटलमा रातो स्टिकर टाँसिएको छ ।

२०७२ सालको भूकम्प पश्चातका दृश्यहरु
२०७२ सालको भूकम्प पश्चातका दृश्यहरु

भूकम्पछि मुलुक पर्यटकविहीन बनेको छ । जसले गर्दा पर्यटनसँग जोडिएका होटलदेखि ट्रेकिङ व्यवसायी, विमान कम्पनीलगायत सबै मारमा परेका छन् । यसको मार पर्यटनसँग जोडिएको रोजगारीमा समेत देखिने स्पष्ट छ ।

भूकम्पले निजी तथा सरकारी जलविद्युत आयोजनामा १७ अर्ब रुपैयाँ बढीको क्षति पुगेको आंकलन नेपाल विद्युत प्राधिकरणले गरेको छ । भूकम्पले सबैभन्दा ठूलो क्षति भोटेकोशी जलविद्युत आयोजनामा परेको छ । ४५ मेगावाट क्षमताको उक्त आयोजना पुरिँदा करिव ६ अर्ब रुपैयाँ बराबरको क्षति भएको सिप्रदीका प्रमुख कार्यकारी अधिकृत सम्भुप्रसाद दाहालको भनाइ छ ।

यसका साथै सरकारी आयोजनाहरुको विद्युत उत्पादन, प्रसारण र वितरण प्रणालीमा ११ अर्ब रुपैयाँ बराबरको क्षति पुगको बताइएको छ । यस क्षेत्रमा भएको क्षतिको पूर्ण विवरण भने अझै आइसकेको छैन् ।

शैक्षिक संस्था

भूकम्पको प्रभाव शिक्षण संस्थामा पनि परेको छ । भूकम्पमा परि १० हजार बढी निजी तथा सरकारी शिक्षण संस्था क्षतिग्रस्त भएका छन् । जसमध्ये ५ सयवटा निजी शैक्षिक संस्था रहेको उच्च माध्यमिक विद्यालय संघ नेपाल -हिसान)का अध्यक्ष उमेश श्रेष्ठ बताउँछन् ।
भूकम्पले १५ जिल्लामा रहेका निजी शिक्षण संस्थामा २ अर्ब रुपैयाँ बढीको क्षति पुगेको अध्यक्ष श्रेष्ठको भनाइ छ । ‘क्षतिको पूर्ण विवरण अझै आइसकेको छैन’ उनले भने- ‘हाम्रो प्रारम्भिक क्षतिको अनुमान २ अर्ब बढी छ ।’

अध्यक्ष श्रेष्ठका अनुसार तीन सय निजी शिक्षण संस्था मर्मत गरेर सञ्चालन गर्न मिल्ने अवस्थामा छन् भने २ सय शिक्षण संस्था पूर्णरुपमा ध्वस्त भएका छन् । ध्वस्त भएका शिक्षण संस्थामा जस्ता पाताको टहरो बनाएर पढाइ सुरु गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
भूकम्पमा परी राजधानीका चर्चित ज्ञानोदय स्कुल र मोर्गन इन्टरनेशनल कलेज पूर्णरुपमा ध्वस्त भएका छन् । त्यस्तै, गोंगबुमा पाँचतले भवनमा रहेको शिक्षण संस्था पनि भत्किएर ध्वस्त भएको छ । शहरी क्षेत्रमा रहेका क्षतिग्रस्त शिक्षण संस्थामध्ये अधिकांश भाडाको घरमा रहेका अध्यक्ष श्रेष्ठको भनाइ छ ।

घरजग्गा व्यवसाय

भूकम्पले राजधानीमा रहेका अधिकांश अपार्टमेन्टमा क्षति पुर्‍याएको छ । नेपाल घरजग्गा व्यवसायी संघका अनुसार यस क्षेत्रमा १५ अर्ब रुपैयाँ बराबरको क्षति भएको अनुमान छ ।

यो प्रारम्भिक अनुमान भएको हुँदा यथार्थ तथ्यांक तलमाथि हुनसक्ने संघले बताएको छ । घरजग्गा व्यवसायमा भएको १५ अर्बको क्षतिमध्ये ६० प्रतिशत बैंकबाट लिएको ऋण र ४० प्रतिशतमात्र व्यवसायीको लगानीमा क्षति पुगेको छ ।

०७१ फागुन मसान्तसम्म बैंकहरुले १ खर्ब ७० अर्ब रुपैयाँ घरजग्गा क्षेत्रमा लगानी गरिसकेको नेपाल राष्ट्र बैंकले जनाएको छ । जसमध्ये जग्गा तथा व्यवसायिक भवनमा ५४ अर्ब र आवासीय घरमा १ खर्ब १६ अर्ब रुपैयाँ ऋण लगानी छ ।

मुलुकभर घरजग्गा क्षेत्रमा करिव ५ खर्ब रुपैयाँ लगानी भएको व्यवसायीहरुको दाबी छ । भूकम्पका कारण उक्त लगानी जोखिममा पर्नसक्ने देखिएको छ ।

पूँजी बजार

भूकम्पपछि नेपाल स्टक एक्सचेञ्ज १९ दिनसम्म बन्द भयो । जसको कारण शेयर किनबेच हुन सकेन । यस अवधिमा ६ अर्ब रुपैयाँ बराबरको शेयर किनबेच हुने थियो ।

‘भूकम्प नखाएको भए १९ दिनको अवधिमा ६ अर्ब रुपैयाँ बराबरको शेयर किनबेच हुन्थ्यो’ नेपाल स्टक एक्स्चेञ्जका महाप्रबन्धक सीताराम थपलियाले भने- ‘कारोबार नहुँदा नेप्सेका सवा पाँच करोडको पुँजीगत लाभकर र एक/सवा एक करोडको टीडीएस उठेन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *