Friday, September 7, 2018
Home > राष्ट्रिय > भित्र के छ, बाहिर भद्रगोल छ

भित्र के छ, बाहिर भद्रगोल छ

‘ताप्के होइन बिंड तातेको छ’

काठमाडौं, ४माघ – संविधान जारी हुन स्वयं दलहरुको सहमतिमा तोकिएको मिति आउन अब मात्र चार दिन बाँकी छ । नयाँ बानेश्वरस्थित संविधानसभामा संविधान ल्याउन होइन, ल्याउन नदिने आवाज चर्किएका छन् ।

एक वर्षमा संविधान दिने ‘भीष्मप्रतिज्ञा’ गरेर गएका दलहरु नै सर्वसहमतिको नाममा तगारो बनेपछि संविधानसभा भवन बाहिर भद्रगोल भएको छ । दिनहुँ दर्जनौं संघ, संगठन, राजनीतिक पार्टी र मोर्चाले संविधानसभा भवन वरपर मेलासरह भएको छ ।

‘एउटा टोली आउने संविधान देऊ भन्ने, अर्को आउने लौ हेरौं त संविधान ल्याएको भन्छन्,’ सुरक्षामा खटिएका एक इन्स्पेक्टर भन्छन्, ‘लगत्तै अर्को आउँछ हिन्दू राज्य भन्छ, अर्को कुनामा जातीय राज्यका लागि खुन बगाउँछौं भन्ने फुत्त निस्कन्छन् । उनले सटिक टिप्पणी गरे, ‘ताप्केलाई होइन, म त बिँड तातेको देखेको छु ।

ती सुरक्षा अधिकारीले भनेजस्तै संविधान बनाउने सभासद्लाई भन्दा जनता तात्नुपर्ने अवस्था आएको छ ।

आइतबार पनि ९ नबज्दै संविधानसभा भवन आसपासमा सुरक्षाकर्मी बाक्ििलइसकेका थिए । उनीहरुले दिनभर आएका आन्दोलनकारीलाई थेग्नुपर्ने थियो ।

मिनभवन क्षेत्रमा डेढ वर्षदेखि दैनिक आन्दोलन गर्दै आएका बृद्धबृद्धलाई छेक्न एक हुल सुरक्षाकर्मी तैनाथ थियो । बुढाबुढीलाई बाहिर निस्कन नदिन ट्रली बसको ढोकैमा नाति उमेरका सुरक्षाकर्मीले बन्दूक तेर्स्याएका थिए ।

११ नबज्दै नाङ्लो बेकरी अगाडि पत्रकारहरु जम्मा हुन थाले । प्रेस चौतारी नेपालले समयमै संविधान दिन दबाबमुलक कार्यक्रम गरेको थियो । नेपाल पत्रकार महासंघका अध्यक्ष महेन्द्र विष्ट, चौतारी अध्यक्ष राजेन्द्र अर्याल, पेसागत महासंघका महासचिव शिव अधिकारी, बरिष्ठ अधिवक्ता रामकुमार श्रेष्ठलगायत दबाबमुलक कार्यक्रममा थिए । संक्षिप्त सभामा युवा संघ महासचिव राजीव पहारी, अनेरास्ववियु अध्यक्ष किशोरविक्रम मल्ल पनि मिसिंदै गए ।

चौतारीको कार्यक्रम नसकिंदै राप्रपा नेपालले हिन्दूराष्ट्र माग गर्दै प्रदर्शनको तयारी सुरु गर्‍यो । बबरमहलबाट छुटेको राप्रपा नेपालको टोली बानेश्वरतिरै आउँदै थियो । राप्रपा नेपालको जुलुस बबरमहलबाट छुट्दा नछुट्दै बानेश्वर भएर चल्ने यातायातको जाम सुरु भइहाल्यो ।

सवारी पातलो हुदै गएको फाइदा उठाउँदै कांग्रेस भ्रातृ संगठन तरुण दलको टोली ब्यानरसहित आइपुग्यो । तर, उनीहरु टाढै बसे । इन्द्रेणी फुडल्यान्ड अगाडि नै भाषण गरे । कार्यकर्ताले एमाओवादी र मधेसी दल संविधानसभाको बाधक भएको नारा लगाए ।

पूर्वसभामुख दमननाथ ढुंगाना नेतृत्वको नागरिक खबरदारीमा आएको टोली राप्रपा नेपालको भीडभाडमा बिलायो । उसले एभरेष्ट होटल अगाडि ठाउँको प्रयोग गर्‍यो । त्यहाँ सहमतिमा संविधान जारी गर भन्ने आवाज गुन्जियो ।

नागरिक खबरदारीले एउटा कुनामा भाषण गर्दा देउसी खेल्ने टोलीजस्तो महिला मानवअधिकार रक्षकहरुको टोली मसला कटेज नजिकै पुग्यो । उनीहरुले महिलामैत्री संविधान र आमाको नाममा नागरिकता मागे ।

प्रेस चौतारीले खबरदारी गएर खाली भएको नाङ्लो बेकरी नजिकै आइपुग्यो दलितहरुको समूह । उनीहरुले दलितमैत्री संविधान मागे ।

त्यति धेरैले बानेश्वर क्षेत्र कब्जामा लिएपछि मार पर्‍यो यात्रुलाई । गाडी चटपटाउने अवस्थै थिएन । भक्तपुरबाट आएका सवारी तीनकुनेमै रोकिए भने ललितपुर र रत्नपार्कबाट आएका सवारी माइतीघरमै थान्को लागे । थापागाउ भएर चल्ने सवारीको जाम अनामनरस्थित भाटभटेनी सुपरमार्केसम्म पुगेको थियो । पुरानोबानेश्वरबाट आएका सवारी हलचल गर्न सक्ने कुरै भएन ।

संविधान बनाउनुपर्ने र बनाएर जे पनि गर्न सक्ने शक्तिले नयाँ बानेश्वरलाई पूरै ‘डिस्टर्ब’ गरेका छन् । सवारीमात्र होइन, यात्रुलाई हिंड्न पनि कठीन छ । समूह समूहको धर्ना र आन्दोलनले भीड बढेको छ ।

संविधानसभाभित्र भनेर निष्कर्षमै पुर्‍याउनेगरी छलफल गर्ने भनेर चमेनागृहमा १६ सय जनाको खानाको प्रबन्ध गरिएको थियो । प्रतिव्यक्ति झन्डै साढे चार सय खानामा खर्च भयो । बेलुका नहुदै सभासदहरु ओठ लेप्रयाउदै बाहिरिंदै थिए ।

भित्र संविधान ल्याउने नल्याउने बाझाबाझ भइरहँदा नयाँ बानेश्वर चोक भने अहिले बडी सो गर्ने ठाउँ भएको छ । कसको शक्ति कति छ, कसले चर्का नारा लगाउने भनेर प्रतिस्पर्धा भइरहेको छ ।

शनिबारमात्र एमाले युवाहरुले ‘सभासदहरु आधा नांगिएको संकेत गर्दै बुद्धनगरबाट अर्धनग्न शरीर लिएर आए, भाषण गरे, गए । आदिवासी, जनजातिहरु त्यसअघि अकुपाई बानेश्वरको नाममा भेला भए, गए ।

युवा संघका महासचिव राजीव पहारी धेरै पत्रकार भएको मौकामा सोमबारको कार्यक्रमबारे सुनाउँदै थिए, ‘सभासद् साह्रै सुते, भोलि हामी कछुवाको चालमा संविधानसभा अगाडि आइपुग्दैछौं । तपाईंहरु पनि आउनुस् है ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *