काठमाडौं नाइजेरियामा इस्लामिक अतिवादी समूह ‘बोको हराम’ले झन्डै १ सय ५० जनाको हत्या गरेको छ ।

लडाकूहरुले उत्तर पुर्वी बोर्नो राज्यको कुकावा र मोन्गुनो गाँउमा बुधबार र विहीबार भीषण हमला गरी झन्डै १ सय ५० जनाको ज्यान लिएको बीबीसीले जनाएको छ ।
पर्यटकीय चाड ताल नजिकको कुकावा गाँउमा मात्रै ९७ जनाको हत्या गरेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।
त्यस्तै, मोन्गुनो गाँउमा ४८ जनालाई गोली हानी हत्या गरिएको बताइएको छ । मृतकहरुमा अधिकांश महिला तथा बालबालिका रहेका छन् ।
नाइजेरियमा पश्चिमी शिक्षामाथि प्रतिबन्ध लगाउने उद्देश्यले सन् २००२ मा इस्लामिक समूह ‘बोको हराम’ गठन भएको थियो ।
त्यसपछि अलग्गै मुस्लिम राज्य माग गर्दै सन् २००९ देखि सुरु गरेको सशस्त्र विद्रोहमा हालसम्म १७ हजारभन्दा बढीले ज्यान गुमाएको मानवअधिकारवादी संस्था एम्नेस्टी इन्टरनेसनलले जनाएको छ । (एजेन्सी)
