महोत्तरी । सिन्धुलीको लंगुरखोला महादेवको दर्शन गराई बोलबम यात्रुहरुलाई बोकेर आइरहेको ज.१ख. ५२९ नम्बरको बस महोत्तरीको बर्दिबास नगरपालिका ५ स्थित भोगटे पुलमा सोमबार साँझ भएको दुर्घटनामा मृत्यु भएका सबै जनाको मंगलबार सनाखत भएको छ ।

मृत्यु हुनेहरुमा महोत्तरीको मटिहानी ५ बस्ने १४ वर्षीय विवेक मण्डल, लोहारपट्टी ३ का २५ वर्षीय मनोज कुमार साह, एकरहिया २ का ३२ वर्षीय जगदीश कुमार साह, ५ का ३५ वर्षीय रामपुकार यादव, सहोडवा ८ की ४० वर्षीया रानीवत्ती देवी कापर, भ्रमरपुरा ७ का १६ वर्षीय अनिस चौधरी र जनकपुर उपमहानगरपालिका ५ का २० वर्षीय हरि कुमार साह हलुवाई र भारतको सीतामढी जिल्ला अन्तर्गत पर्ने ग्रामपुरका ५५ वर्षीय बुधु साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
त्यस्तै सो दुर्घटनामा घाईतेहरु भएका ७४ जना मध्ये बनौली ५ का रिचा कुमारी चौधरीको जनकपुर अञ्चल अस्पतालमा, धनुषा हरिपुर ५ का १२ वर्षीय पप्पु मण्डल, चालक जलेश्वर नगरपालिका १२ का रामकेवल मण्डलको उपचार न्युरो अस्पताल विराटनगर, पिपरा ६ का राकेश साह र मुकेश साहको शिक्षण अस्पताल काठमाडौं र मटिहानी ५ का निराजन मण्डलको उपचार भारतको दरभंगामा भइरहेको छ भने उनीहरुको अवस्था चिन्ताजनक रहेको छ ।
साथै अन्य घाइतेहरुको उपचार जनसेवा, शभ स्वस्तिक, होप, सिटीकेयर, बर्दिबास अस्पताल, जानकी हेल्थकेयर र लालगढ अस्पतालमा भइरहेको छ ।
