काठमाडौं: विजयकुमार गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) र शिवलाल थापा नेतृत्वको राष्ट्रिय जनमुक्ति पार्टी (लोकतान्त्रिक)बीच पार्टी एकीकरण हुने भएको छ ।
यी दुई पार्टीबीच भोलि (बुधबार) राजधानीमा एकता घोषणा हुने फोरम लोकतान्त्रिकका महासचिव रामजनम चौधरीले कान्तिपुरलाई बताए । संसद्मा फोरम लोकतान्त्रिकको १४ र जनमुक्ति पार्टीको २ सिट छ ।
स्रोतका अनुसार थरुहट तराई पार्टीका गाेपाल दहित लगायत केही साना दलहरु पनि भोलि नै फोरम र जनमुक्तिबीचको एकतामा सामेल हुने दाबी छ । फोरम लोकतान्त्रिकका महासचिव चौधरीले त्यसको सम्भावना रहेको बताए । थरुहट तराई पार्टीको तर्फबाट दहित मात्रै सांसद छन् । थरुहट दुई सांसद रहेकोमा पार्टी हितविपरीत काम गरेको भन्दै यसअघि सांसद गंगा चौधरीलाई उक्त पार्टीले निष्कासन गरेको थियो । सांसद चौधरी अहिले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीमा छिन् ।
पछिल्लोपटक निर्वाचनमा थ्रेसहोल्ड (मतसीमा) को व्यवस्था गरिने भएपछि साना दलहरु एकीकरण प्रक्रियामा लागेका हुन् । नयाँ शक्ति, उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी पार्टी, अन्य मधेस केन्द्रित दलहरुबीच पनि एकता हुने चर्चा छ ।
संसदको राज्य व्यवस्था समितिले केही साताअघि राष्ट्रिय दलको मान्यता पाउन प्रत्यक्ष निर्वाचनतर्फ १ सिट र समानुपातिक निर्वाचन प्रणालीतर्फ कूल खसेको मतकाे आधारमा ३ प्रतिशत मत ल्याउनुपर्ने प्रस्ताव संसदमा पठाएको छ ।
स्रोत ः कान्तिपुर
