महोत्तरी । सरकारले नेपाललाई ६ भागमा गरेको प्रादेशिक विभाजनको विरोध गर्दै मंगलबार महोत्तरीको सदरमुकाम जलेश्वरमा प्रदर्शन गरिएको छ भने प्रधानमन्त्रीको पुतला समेत दहन गरिएको छ ।

संघीय समाजवादी फोरम नेपाल, तमलोपा, तमसपा, सदभावना पार्टी र वैद माओवादीका नेता कार्यकर्ताहरुले मंगलबार जलेश्वरमा सरकारको विरोधमा प्रदर्शन गर्नुका साथै जलेश्वरको नगरपालिका चौकमा प्रधानमन्त्री सुशिल कोईरालाको पुतला दहन गरेका छन् ।
सरकार विरुद्ध विभिन्न नाराबाजी गर्दै जलेश्वरको खैराचौकबाट शुरु भएको प्रदर्शन जलेश्वरको विभिन्न भागको परिक्रमा गर्दै नगरपालिका चौकमा पुगेर प्रधानमन्त्रीको पुतला दहन गर्दै प्रदर्शन सम्पन्न गरेको थियो ।
प्रदर्शनको क्रममा नेता कार्यकर्ताहरुले मधेश विरोधी सरकार मुर्दाबाद, विभेदपूर्ण प्रादेशिक विभाजन खारेज गर लगायतका विभिन्न नाराहरु लगाएका थिए ।
