वातावरण बनाउन प्रचण्डको आग्रह
काठमाडौं, १४ माघ– प्रश्नावली समिति गठनको कदम नसच्याएसम्म सरकारसँग वार्ता नगर्ने बताउँदै आएका एमाओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री सुशील कोइरालाले बुधबार साँझ टेलिफोन गरेर सहमतिको प्रस्ताव राखेका छन् ।
प्रधानमन्त्री कोइरालाले टेलीफोन गरेर प्रचण्डलाई सहमति गरौं भन्ने प्रस्ताव राखेको प्रचण्डका स्वकीय सचिव चूडामणि खड्काले अनलाइनखबरलाई बताए ।
प्रधानमन्त्रीलाई जवाफ दिँदै प्रचण्डले ‘वार्ताको ढोका तपाईहरु आफैंले बन्द गरेको’ प्रतिक्रिया दिएको खड्काले बताए । ‘पहिले सभाध्यक्ष सुवास नेम्वाङले चालेको कदम सच्याउनुपर्छ र वार्ताको वातावरण सरकारले आफैं तयार पार्नुपर्छ’ प्रचण्डले प्रधानमन्त्रीलाई दिएको जवाफ उधृत गर्दै खड्काले भने ।
प्रधानमन्त्री कोइरालाले वार्ताको वातावरण बनाउने आश्वासन दिएको उनले बताए ।
