काठमाडौँ, २३ माघ– राष्ट्रपति डा. रामवरण यादवले संविधानसभाको बैठक बहिष्कार गरी आन्दोलनमा उत्रिएको एकीकृत नेकपा माओवादीलाई वार्ता र संवादमार्फत संविधान निर्माण प्रक्रियामा सहभागी हुन आग्रह गरेका छन् ।
एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशसँग शुक्रबार निवासमै भोलाएर राष्ट्रपति यादवले वार्तामा बस्न आग्रह गरेको हो ।
सबै दल अत्यन्तै लचकताका साथ प्रस्तुत भई संविधान निर्माणमा देखिएको समस्याको निकास पहिल्याउनुपर्नेमा राष्ट्रपतिको जोड थियो । भेटमा राष्ट्रपतिले संविधान निर्माणमा चासो व्यक्त गर्दै सबै दल मिलेर संक्रमणकाल अन्त्य गरी अघि बढ्नुपर्नेमा जोड दिएको श्रेष्ठले जानकारी दिए ।
वर्तामा बस्न राष्ट्रपतिले गरेको आग्रहमा प्रचण्डले सहमति निर्माणको प्रक्रियाले गुणात्मक फड्को मारिरहँदा सत्तारुढ दलले बलपूर्वक बहुमतीय प्रक्रियामा लैजान खोजेकाले आफुहरु आन्दोलनमा जान बाध्य भएको बताएका थिए । सहमतीय प्रक्रियामा ल्याई नागरिकको मुद्दा स्थापित गर्नका लागि मात्रै आफुहरु नागरिकमाझ गएको उनको भनाई थियो ।
संविधानका विवादित विषयमा सहमति नजुटेपछि ती विषय टुंगोमा पु¥याउन संविधानसभाले प्रस्ताव समिति निर्माण गरे संगै प्रमुख दलहरुबीच धु्रवीकरण बढ्दै गएको छ । सत्तारुढ र विपक्षी दलका शीर्ष नेताहरु नै आरोप प्रत्यारोपमा उत्रिएपछि राष्ट्रपतिले दलका शीर्ष नेताहरुसँग भेटवार्ता तीव्र पारेको हो । उनले बिहीबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए ।
