‘जसले ११ प्रदेश हुन दिएन, त्यसैले ६ पनि हुँदैन भन्दैछ’

काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले संविधानसभाबाट संविधान बन्न नदिने षड्यन्त्र भएको बताएका छन् ।
हिजो आफूले ११ प्रदेशको सहमति जुटाउन खोज्दा हुन नदिने र अहिले ६ प्रदेशको विरोध गर्नेहरु एकै भएको उनले बताए । मधेसी नेताहरुले पहिले पहाडसँग मधेसलाई जोड्नै हुँदैन भनेको र अहिले आएर मधेस-प्रदेशमा पहाड खोई भन्दै विवाद गरिरहेको प्रचण्डले गुनासो गरे ।
व्यवस्थापिका संसदको बिहीबारको बैठकलाई सम्बोधन गर्दै एमाओवादी अध्यक्ष प्रचण्डले ०६९ जेठ २ गते भएको ११ प्रदेशको सहमति सम्झिए ।
बैद्य माओवादी र असन्तुष्ट मधेस केन्दि्रत असन्तुष्ट दलतर्फ संकेत गर्दै प्रचण्डले बढी अधिकार खोज्ने नाममा आफ्नै पार्टीका केही नेता र आफूलाई संघीयता पक्षधर भन्ने तर, यथार्थ धरातल बुझ्न नचाहने शक्तिको अवरोधका कारण ११ प्रदेशको खाका कार्यान्वयन गर्न नसकिएको बताए । उनले भने- ‘अहिले तिनै शक्तिहरु, जो अहिले मेरो पार्टीमा हुनुहुन्न, उहाँहरु सडकमा हुनुहुन्छ, केही साथीहरु संविधानसभा बहिस्कार गरिरहनुभएको छ । म ती सबै साथीहरुलाई सम्झिरहेको छु ।’
आफूले कसैलाई आरोप लगाउन र अपमान गर्न नचाहेको भन्दै प्रचण्डले भने-‘तर, मेरो मनमा गहिरो चिसो पसेको छ । हिजो ११ प्रदेशमा सहमत भएर किन संविधान घोषणा गर्न सकेनौं ? त्यो के शक्तिको हो, जसले नामबिनाको हुँनै सक्दैन र सीमा भए पनि हुन सक्दैन भन्यो ? त्यो को को शक्ति हो ? को कता कताको शक्ति हो ? जसले अहिले ६ प्रदेश पनि हुँदैन दिँदैन ।’
प्रचण्डले अगाडि भने- ‘त्यसले क्रान्ति गरेर पुरै १४ प्रदेशको संघीयता ल्याउने स्थिति पनि देशमा छैन भने त्यसले खोजेको के चाहिँ हो त ? प्रश्न खडा भएको छ ।’
एमाओवादी अध्यक्ष प्रचण्डले असन्तुष्ट मधेसी मोर्चासँग बैद्य माओवादीले गरेको मोर्चाबन्दीलाई धमिलो पानीमा माछा मार्ने प्रयासको संज्ञा दिएका छन् । उनले भने-‘मेरै साथीहरु अहिले ढुंगा हानेर फाइदा लिने आत्मरतिमात्र गरेजस्तो लाग्छ, हुनेवाला केही छैन ।’
हिजो मधेसलाई पहाडसँग जोडौं भन्दा पहाडसँग जोड्ने कुरा गरियो, हुँदैन’ भनेको र आहिले मधेस प्रदेशमा पहाड खै भनेको भन्दै प्रचण्डले प्रश्न गरे- यो के तरिका हो ? बुझ्न गाह्रो भो, के गरेपछि हुन्छ ? उनले अगाडि भने-हिजो सीमांकनविना मानिँदैन भन्नुभो साथीहरुले, इमान्दारिता होला । सीमांकन गर्न सके राम्रो हो भनेर जोड गरियो । अब सीमांकन भयो, यो सीमांकन मान्दैनौं भनेपछि गर्न खोजेको के हो ?’
सबैको मनसाय होला, भन्न नसके पनि जे गरेर भए पनि यो संविधानसभालाई सफल हुन नदिने र संविधान बन्न नदिने निष्कर्ष निस्कने प्रचण्डले बताए ।
संविधान शक्ति सन्तुलनको अधिकतम अभिव्यक्ति
प्रचण्डले १० वर्ष जनयुद्ध गरिस्, सबैलाई संघीयता दिन्छस् भनेको होइन भनेर आफूलाई प्रश्न आएको बताए । तर, शक्ति सन्तुलन जस्तो छ, त्यस्तै संविधान आउने भन्दै उनले भने-‘अहिलेको संविधान शक्ति सन्तुलनको अधिकतम अभिव्यक्ति राम्रो दस्ताबेज हो ।’
उनले प्रदेशहरुको सीमांकनपछि मध्यपश्चिम र कणर्ालीमा आएको प्रतिक्रिया स्वभाविक भएको बताए । प्रचण्डले भने-कर्णाली र मध्यपश्चिममा जनताको आवेग आएको छ । त्यो हामी फेरि ठगिने हो कि भन्ने आवेग हो । त्यसलाई म सम्मान गर्छु ।’
तर, थारुहरुलाई सबैभन्दा तीतो लागेको भएको भन्दै सम्बोधन गर्नुपर्ने बताए । ‘कैलालीको थारु बाहुल्य क्षेत्र भए पनि हुन्छ भन्दा पनि हामीले सहमति गर्न सकेनौं । अखण्ड सुदूरपश्चिमको नाराले गडबडी भयो’ एमाओवादी प्रचण्डले भने- ‘हामीले सम्झौताको विन्दु खोज्न जरुरी छ, कर्णाली र सुर्खेतको केन्द्रलाई सम्बोधन गरेपछि हामी ६ प्रदेशको सम्झौताबाट यताउता जान पर्दैन ।’
तर, संविधानसभाबाट केही हप्ताभित्र संविधान घोषणा गर्ने र ६ प्रदेशबाट पछाडि हट्नै नसक्ने एमाओवादी अध्यक्ष प्रचण्डले बताएका छन् । ‘पछिल्लो ८ वर्ष जंगलमा हामी हराएका थियौं । फर्किएर पुरानो ठाउँमा गएकै हो’ उनले भने-संविधानसभाबाट अग्रगामी संविधान निर्माण गर्ने प्रतिवद्धतामा फर्किएका छौं र नयाँ प्रक्रियाको सुरुवात भएको छ ।’
