महोत्तरी । केहिदिनदेखि तराईमा परेको प्रचण्ड गर्मी र चर्को घामका कारण महोत्तरी जिल्लाको उत्तरवर्ती पशुपतिनगर गाविसमा पानीको हाहाकार भएको छ ।
विकट भौगोलिक बनोटका कारण प्रचण्ड गर्मी आउनासाथ पानीको सतह घटेर धेरै तल गइसकेर पशुपतिनगरको विभिन्न वडाहरुमा रहेका जम्मा ८० वटा ईनारहरु मध्ये करीब ५० वटा ईनारहरु पूर्ण रुपेन सुकिसकेको छ भने बाँकी ईनारहरुको पानी पनि पाताल लागिसकेको स्थानियहरुले बताएका छन् ।
सो गाविसमा ५० वटा ईनारहरु एकैचोटी सुकिदिंदा त्यहाँ खानेपानीको बिक्राल समस्या उत्पन्न भएको र ती ईनारहरुबाट एक गाग्री पानी पनि निस्किने अवस्था नरहेको स्थानियहरु बताउँछन् ।
पानीको हाहाकार मचेपछि पशुपतिनगरका प्रत्येक परिवारका एकजना सदस्यले विगत १५÷२० दिनदेखि दिनभरि खानेपानीको जोहोमा लाग्नुपरेको छ ।
स्थानियका अनुसार त्यहाँको कुनै पनि ईनारमा पानी छैन् र एक गाग्री पानीको लागि छिमेकी गाउँ वा समूह बनाएर नजिकको शहर बजारबाट पानी किनेर ल्याउनुपरेको छ ।
पानीको अभावमा सो गाविसका बासिन्दाहरुले जसोतसो खाना पकाउने र पिउने सम्म गरेको छ भने नुहाउने, लुगाधुने, वस्तुभाऊलाई खुवाउने जस्ता कार्यहरु सातामा २÷३ पटक मात्रै गर्ने गरिएको हो ।
चार किलोमिटर उत्तर दक्षिण लम्बाई रहेको पशुपतिनगर गाविसमा पर्ने बनरझुल्ला, झलुखे, भोलासिंहटोल, रखालटोल, दुर्गाटोल, गुमस्ताटोल, पशुपतिनगर सबैतिर पानीको संकट भएको स्थानियबासिन्दाहरुले बताएका छन् ।
सो गाविसमा धेरै पहिले जडान गरिएका ५ वटा डीप बोर्डिङ्गहरु पनि खराब भएर सञ्चालनमा नहुँदा स्थानियहरुलाई पानीको जोहोका लागि छिमेकी जिल्ला धनुषाको शहर बजार र ५ देखि ७ किलोमिटर टाढासम्म रहेको छिमेकी गाविसका नदी नाला र ईनारहरुमा जानुपर्ने बाध्यता रहेको छ ।
जिल्लामा पर्न थालेको प्रचण्ड गर्मी र चर्को घामका कारण उत्तरवर्ती पशुपतिनगरमा मात्रै नभई त्यस क्षेत्रका किसाननगर, बिजलपुरा, हातिलेट, लक्ष्मिनियाँ, बेलगाछी र बर्दिबास सहितका गाविसहरुमा पनि पानीको हाहाकार मचेको स्थानियहरुले बताएका छन् ।
