काठमाडौं । संसदको श्रम तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रभावकारी रुपमा काम गर्न नसकेको भन्दै परराष्ट्र मन्त्रालयको आलोचना गरेको छ ।
देशको कुटनीति बलियो बनाउनु पर्नेमा श्रमका लागि बाहिर पुग्ने नेपालीकै कुरामा मन्त्रालय अल्झिएको गुनासो समितिका सदस्यहरुले गरेका थिए ।
समितिको आजको बैठकमा लामो समयदेखि विदेशस्थित दुतावासहरुका लागि भवन किन्ने नीति लिए पनि कार्यान्वयन हुन नसकेको, पासपोर्ट वितरण प्रक्रिया प्रभावकारी नभएको, अन्य देशसँग नेपालको सम्बन्ध प्रगाढ हुन नसकेको सांसदहरुले बताए ।
समितिले किस्ताबन्दीमै भए पनि दुतावासहरुको जग्गा खरिद प्रक्रिया अघि बढाउन मन्त्रालयलाई भनेको छ । बैठकमा परराष्ट्रमन्त्री महेन्द्र बहादुर पाण्डेले ती सबै विषयलाई प्राथमिकतामा राखिएको बताए ।
यता वातावरणीय सन्तुलनलाई ख्याल राखेर मात्र विकास निर्माणका काम अघि बढाउन संसदको वातावरण संरक्षण समितिले सरकारलाई निर्देशन दिएको छ ।

आज बसेको समितिको बैठकमा भौतिक पुर्वाधार तथा यातायात मन्त्री बिमलेन्द्र निधि, मन्त्रालयका सचिव र सम्बन्धित निकायका प्रमुखहरुसँगको छलफलपछि यस्तो निर्देशन दिइएको हो ।
जवाफमा मन्त्री निधिले वातावरणमा असर नपर्ने गरी आयोजनाहरु निमार्णमा ध्यान दिन लागिपरेको जिकिर गरे ।
राष्ट्रिय गौरवका आयोजनाहरु निमार्णमा जथाभावी रुपमा वन फडानी हुन थालेको गुनासो आएपछि समितिको ध्यानाकर्षण भएको थियो ।
