Friday, September 7, 2018
Home > मनोरञ्जन > ‘नाइँ नभन्नु ल ४’ को प्रोमो

‘नाइँ नभन्नु ल ४’ को प्रोमो

b

सांगीतिक प्रेमकथामा आधारित फिल्म ‘नाइँ नभन्नु ल ४’ को सोमबार प्रोमो सार्वजनिक गरिएको छ । विकास आचार्य निर्देशित उक्त फिल्मबाट तीन मुख्य कलाकारहरू पल शाह, वर्षा राउत र आँचल शर्माले डेब्यु गर्दै छन् । त्यसबाहेक नायिका प्रियंका कार्की, अनुभव रेग्मी र सरोज खनालले निरन्तरता पाएका छन् ।

‘लगातार काम गर्न पाएकी छु । अब त ‘नाइँ नभन्नु ल’ आफ्नै परिवारजस्तो लाग्न थालेको छ,’ कार्यक्रममा बोल्दै नायिका प्रियंकाले थपिन्, ‘सुटिङ गर्दा पनि एक महिना बिदा मनाएजस्तो भयो । यसपटक अलि भिन्न चरित्र निर्वाह गरिरहेकी छु जुन मेरा लागि चुनौतीपूर्ण पनि छ । र, यस चरित्रमा काम गर्दा मिठो अनुुभव पनि रह्यो ।’ म्युजिक भिडियो मोडलिङमा अहिले जमेका पलले भने फिल्मी अभिनयको अनुभव सुखद रहेको बताए । उनले भने, ‘मोडलिङमा मलाई जति माया गर्दिनुभएको छ, त्यो प्रेम फिल्ममा पनि गर्दिनुहोला ।’ पलले फिल्म अभिनयमा लागेकोले आगामी दिनमा म्युजिक भिडियो मोडलिङलाई कम गर्दै र फिल्टर गर्दै लग्ने योजना पनि सुनाए ।

नायक जीवन लुइँटेललाई लिएर ‘नाइँ नभन्नु ल’ सिरिजको थालनी गरेका निर्देशक विकासले पछि आर्यन सिग्देललाई पनि भित्र्याएका थिए । तर ‘नाइँ नभन्नु ल ४’ मा भने दुवै दोहोरिएनन् । निर्देशक विकासले कत्तिको अभाव महसुस गरे त ? उनले तत्काल जवाफ फर्काए, ‘धेरै नै मिस गरें । उहाँहरूसँग फेरि काम गर्ने ठूलो इच्छा छ ।’ सामीप्यराज तिमल्सेनासँग मिलेर पटकथा लेखेका निर्देशक विकासले यसपछि ‘निरान्जना’ निर्देशन गर्ने पनि खुलाए ।

हरिबोल भण्डारी र दिनेश पोखरेलको संयुक्त लगानी रहेको ‘नाइँ नभन्नु ल ४’ चैत २६ देखि देशव्यापी प्रदर्शन थाल्दै छ । सोमबार फिल्मको प्रोमोसँगै एक गीत पनि रिलिज गरिएको थियो । फिल्ममा वसन्त सापकोटाको संगीत रहेको छ भने पुरुषोत्तम प्रधानले खिचेका हुन् ।

Source : ekantipur

Leave a Reply

Your email address will not be published. Required fields are marked *