Friday, September 7, 2018
Home > राजनीति > देशको लागि लड्न र मर्न तयार छौं : विप्लव

देशको लागि लड्न र मर्न तयार छौं : विप्लव

तुलसीपुर, २३ पुस । नवगठित नेकपा माओवादी संयोजक नेत्रविक्रम चन्द ‘विप्लव’ले देशका लागि लड्न र मर्न तयार रहेको बताएका छन् । राष्ट्रिय स्वाधिनताको अधिकार बाहेक आफूहरुमा अरु कुनै स्वार्थ नभएको भन्दै उनले विदेशी दलालहरुको पकडबाट नेपाललाई मुक्त पार्ने आफूहरुको उद्देश्य रहेको बताए ।
दाङको तुलसीपुरस्थित ओम शान्ति सिनेमा हलमा बुधवारदेखि शुरु भएको प्रथम राष्ट्रिय सम्मेलन उदघाटन समारोहलाई सम्वोधन गर्दै विप्लवले सो धारणा राखेका हुन् ।

‘देशको साझा मुद्दामा सबै दलहरु एक हुन नसक्दाको फाईदा विदेशी दलालहरुले आफ्नो पकडमा पारेका छन्, हामी राष्ट्रवादी सबैलाई एकजुट पार्ने अभियानमा छौं,’ विप्लवले भने, ‘जनता र देशका लागि लड्न र मर्न तयार छौं ।’
माओवादीको पतन चाहने आफै पतन हुने चेतावनी
विभिन्न तवरबाट माओवादीलाई सिध्याउने खेल भैरहेको उनले बताए । विप्लवले माओवादीको पतन चाहनेको पनि भविष्य समाप्त हुने चेतावनी दिए ।

सम्मेलनबाट पार्टीको आगामी कार्यदिशा र नयाँ नेतृत्व चयन गर्ने माओवादीले जनाएको छ । सम्मेलनमा प्रतिनिधि, पर्यवेक्षक र स्वयम्सेवक गरी ६ सय बढी नेता कार्यकर्ताहरु सहभागी छन् ।

पार्टी प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले सम्मेलनलाई अलि पृथक बनाउने प्रयास भएको बताए । यसअघिको जस्तो कार्यकर्ताले रिपोर्टिङ गर्ने र नेताहरुले प्रशिक्षण दिएर सक्ने भन्दा पनि सबैले बहस गर्ने वातावरण बनाइएको उनले जानकारी दिए ।

बन्दसत्रमा संयोजक विप्लवले नेपाली मौलिकता सहितको जनवादी क्रान्ति सम्पन्न गर्नुपर्ने अवधारणा सहितको प्रतिवेदन पेश गर्ने छन् । जसलाई ‘एकीकृत क्रान्तिको कार्यक्रम’ भनिएको छ । उनको प्रतिवेदनमा मध्यमवर्गीय जनतामा बढी जोड दिइएको छ ।

यसअघिका नेताहरुले ल्याउने दस्ताबेजहरुमा जनवादी क्रान्तिको मुख्य आधार किसान मजदुर भनिए पनि अब परिवर्तनशील समाज विकाससँगै मध्यमवर्गीय जनताको पनि सहभागिता सुनिश्चित गर्नुपर्छ भन्ने मान्यता रहेको प्रकाण्डले बताए ।

मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीले क्रान्ति गर्न नसक्ने भन्दै पार्टीबाट अलग्गिएका विप्लवले आफ्नो नेतृत्वमा छुट्टै पार्टी गठन गरेका हुन् । विप्लवको पार्टीले गर्ने निर्णयलाई चासोका साथ हेरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *