सिन्धुली– संविधानसभाबाट सहमतिमा संविधान, पहिचार र अधिकार सहितको अग्रगामी संविधान भन्ने मुल नाराका साथ आन्दोलनमा उत्रिएको एकीकृत नेकपा(माओवादी) र मधेशवादी दलहरु सहितको ३० दलीय मोर्चाले शनिबार देशव्यापी रुपमा जिल्ला सदरमुकामहरुमा विरोध प्रदर्शन गरेको छ ।
सिन्धुलीमाढीमा गरेको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै एकीकृत माओवादीका केन्द्रीय सचिब तथा पुर्व अर्थमन्त्री वर्षमान पुनले सम्बोधन गरेका थिए । कोणसभालाई सम्बोधन गर्दै नेता पुनले सक्तापक्ष दलहरुले प्रक्रियाको नाममा संविधानसभामा पेलेर संविधान ल्याउन खोजे आफुहरुलाई मान्य नहुने र आफुहरु संविधानसभा भित्रै बलिदान गर्न तयार हुने बताएका छन ।
पुनले माघ ८ मै संविधान जारी हुनुपर्ने तर सहमति मार्फत अग्रगामी संविधान जारी हुनुपर्ने तिस दलीय मार्चोको धारणा रहेको समेत बताए । सक्तामा रहेका दलहरुको एकाधिकारबादी सोचका कारण ३० दलीय मोर्चाको जन्म भएको पुनले बताए । आन्दोलनमा प्रतिकारको दुसहास नगर्न समेत उनले आग्रह गरेका छन । संविधान बन्ने सहमति नहुँदा सम्म आफुहरु आन्दोलनमा जाने र सहमतिकै लागी आफुहरु आन्दोलनमा उत्रिएको पुनको भनाई थियो ।
माढीबजारको परिक्रमा पछि लोकतान्त्रिक चौकमा आयोजित कोणसभालाई राष्ट्रिय जनमुक्ति पार्टीका उपाध्यक्ष मानध्वज ब्लोन, संघीय समाजवादी पार्टीका नेता बुद्धि राई लगायतले सम्बोधन गरेका थिए ।
तिस दलीय मोर्चामा संविधानसभामा रहेका एकीकृत माओवादी र मधेशवादी सहित ११ दल र संविधानसभा बाहिरका १९ दलहरु आबद्ध रहेका छन ।
