ताप्लेजुङ । ताप्लेजुङको विकट पश्चिमी क्षेत्रका विभिन्न गाउँंहरुमा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ४७ पुगेको छ ।
गम्भीर घाइते ८ जनालाई नेपाली सेनाले जिल्ला अस्पताल पुर्याएको छ ।
मृतकहरु लिङतेपका चमेली लिम्बू र मनमाया लिम्बु, लिवाङका देवेन्द्र लिवाङ, खोक्लिङका सबिन मादेन र बसन्त विकको मात्र सनाखत भएको छ ।
मृत्यु भएकाहरुमध्ये लिबाङ–१ बाट–१२ ओटा शव, लिबाङ २ बाट ८ ओटा शव, लिवाङ ३ बाट ४ ओटा शव निकालिएका हुन् ।
यस्तै, लिङतेपबाट तीन, थिङलावुबाट पांँच, खोक्लिङबाट ७, र सान्थाक्राबाट दुईओटा शव निकालिएको प्रहरीले जनाएको छ ।
ताप्लेजुङका लिबाङ, थोक्लिङ, थिङलाबु र लिङतेप गाविसका सबै वडामा एकैचोटी भीषण पहिरो जाँंदा उनीहरुको मृत्यु भएको हो । ती गाउँहरुमा अझै केही स्थानीय सम्पर्कमा नआएकाले मृतकको संख्या बढ्न सक्ने प्रहरीको अनुमान छ ।
पश्चिमी ताप्लेजुङका ६ गाविसका खोला आसपास र डांँडामा रहेका दुई दर्जन बढी घर पहिरोले बगाएको हो । पहिरोले लिङतेप, खोक्लिङ, लिवाङ र थिङलावु गाविस सबैभन्दा बढी प्रभावित भएका छन् ।
वर्षा भइरहेको र खोल्सा तथा खोला बढेका कारण उद्धारमा समेत कठीनाइ भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
प्रहरी र स्थानीय बासिन्दा प्रभावित ठाउँमा उद्धारमा खटिएका छन् ।
उता, बुधबार राति ताप्लेजुङको म्याङखामा पहिरो गएपछि मेची राजमार्ग अवरुद्ध बनेको छ ।
