Friday, September 7, 2018
Home > स्थानीय > जानकी मन्दिरको बिजुली काटियो, विगत ३० वर्षदेखि महसुल तिरिएन

जानकी मन्दिरको बिजुली काटियो, विगत ३० वर्षदेखि महसुल तिरिएन

1

धनुषा । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र जनकपुरले विश्वप्रसिद्ध जानकी मन्दिरलगायत विभिन्न मठ–मन्दिर, अस्पताल एवं सरकारी कार्यालयको विद्युत् लाइन काटिएको छ ।

विद्युत् महसुल नबुझाउने उपभोक्ताको बिजुली काट्ने अभियानअन्तर्गत् जानकी मन्दिर, लक्ष्मण मन्दिर, रामजानकी विवाहमन्डप, जनकपुर अञ्चल अस्पताल, मैक्स प्लास्टिक उद्योग तथा सडक डिभिजन कार्यालयको विद्युत्लाइन काटिएको विद्युत् प्राधिकरण जनकपुर वितरण केन्द्रका प्रमुख जितेन्द्र झाले बताए ।

प्रमुख झाकाअनुसार, जानकी मन्दिरले विगत ३० वर्षदेखि विद्युत् महसुल नबुझाएको र मन्दिरमाथि रु. ६५ लाखभन्दा बढी रकम बक्यौता रहेको छ ।

यसैगरी, लामो समयदेखि विद्युत् महसुल नबुझाएका लक्ष्मण मन्दिरमाथि रु. १७ लाख, रामजानकी विवाहमन्डपमाथि रु. साढे ७ लाख, जनकपुर अञ्चल अस्पतालमाथि रु. ६० लाख, मैक्स प्लास्टिक उद्योगमाथि रु. साढे ५ लाख तथा सडक डिभिजन कार्यालयमाथि रु.३ लाख २५ हजार बाँकी बक्यौता रहेका छन् ।

जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले पञ्चायतकालमा जानकी मन्दिर परिसरभित्र अञ्चलाधीश कार्यालय, प्रहरी कार्यालय, युवा क्लब तथा कराते संघलगायतका कार्यालय रहेको उल्लेखगर्दै त्यसपछि पनि मन्दिर परिसरभित्रै बृहत्तर जनकपुर क्षेत्र विकास परिषद, जानकी मन्दिर जीर्णोद्धार समिति, मिथिला सांस्कृतिक केन्द्रलगायतका कार्यालय रहेको र ती कार्यालयले उपभोग गरेको विद्युत् महसुल हालसम्म नबुझाएकाले सोबापतको बक्यौता रकम ठूलो देखिएको बताए ।

विद्युत् महसुलबापतको बक्यौता रकम माफीका लागि सम्बन्धित निकायमा आग्रह गर्ने पनि उनले बताए ।

महन्थ दासले गुठी संस्थाबाट जानकी मन्दिरले पाउनुपर्ने मालपोतबापतको रकमबाट विद्युत् महसुल बुझाएर बाँकी रकम मन्दिरलाई उपलब्ध गराउन पहल गरिदिन नागरिक समाजसँग आग्रह गरे ।

महन्थ दासकाअनुसार, मालपोत दस्तुरबापत गुठी संस्थानले जानकी मन्दिरलाई रु. डेढ करोडभन्दा बढी रकम तिर्न बाँकी रहेको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *