
आनन्दराम पौडेल –जात-जातको राज्य हुनुपर्छ भन्दै थरुहट, थारु कल्याणकारिणी सभा र संयुक्त मधेशी मोर्चाले ९ दिनदेखि भैरहवालार्इ पनि पुरै बन्द गराएका छन। भदौ ३ गते बिहीबारका दिन बन्दकर्ताहरु जबर्जस्ती बन्द गराउँदै हिंडे। हातमा रड, लाठी, चिर्पट दाउरा लिएर होहल्ला गर्दै, तर्साउँदै, धम्काउँदै, आतङ्क मच्चाउँदै भैरहवा वजार निस्के। बुद्धचोकमा पुगेर, “यो घरको मान्छे बन्द गराउन हिंडेको छैन” भन्दै केही व्यक्तिका निजी घरका सिसा झरामझुरुम् फोरे। छेउकुनामा राखिएका बस र ठेलागाडालार्इ तोडफोड गरे। घरभित्र राखिएका मोटरसाइकलहरु घिसार्दै बाहिर ल्याउँथे र तोडफोड गर्थे। केहीमा आगो लगाए। सिद्धार्थनगर सिटी हस्पिटलका डाक्टरहरु बन्द गराउँदै हिंडेनन् भनेर अस्पताल अगाडी चर्को नारावाजी गरे। चारैतिरबाट अस्पतालमाथि ढुङ्गा प्रहार गरे। अस्पताल भर्ना भएका बिरामी, बिरामीका कुरुवा र कर्मचारीहरुसमेत् आँत्तिंदै, रुँदै, कराउँदै निस्के। भागमभाग भयो। यसैगरी होटल, व्यापारिक भवन केही बाँकि राखेनन्।
विद्रोह-सन्देशको मुख्य सार के होभने, “यथास्थितिभन्दा उचित, उन्नत हुनसक्छ र त्यो हामी गर्छौं” भन्ने हो। यस हिसाबले संस्थापनभन्दा आचरण, व्यवहार, कर्म, संस्कृति, मूल्यलगायत हर क्षेत्रमा विद्रोही शक्ति उत्कृष्ट देखिनुपर्छ। यसकोलागि विद्रोहको उद्घोष गर्ने अगुवाहरु नै रोलमोडेल बन्नुपर्छ। तर, नेपालको सन्दर्भमा ठीक उल्टो के देखियोभने हत्याहिंसा गर्नु, तोडफोड गर्नु, आगो लगाउनु, तर्साउनु, धम्काउनु, आतङ्कित पार्नु, अपहरण गर्नु, जबर्जस्ति असुल्नु पो गौरवशाली कर्म भयो। समाज, समुदाय, राष्ट्रमा सबैथरीका मानिस बसेका छन्। एउटा सिष्टमको अनुशरण गरेर, नियमको पालना गरेर अनुशासनमा रहेर सबैजना एकठाउँमा मिलिजुली बस्न सक्छन् भन्ने विश्वब्यापी मान्यता मात्र हैन साश्वत नियम नै यही हो। ‘मेरै बाउको बिर्ता’ भनेझैं गरी, “यत्ति सेरोफेरो भूगोलमा मेरै जातको बर्चस्व हुनुपर्छ। हाम्रै जात्सम्प्रदायको नाममा हुनुपर्छ” भनेर अरुको अस्तित्व नै स्वीकार नगर्ने एकलौटी गर्ने मनशायका हुङ्कारलाइ कसरी मानवीय, न्यायोचित, उन्नत र बैज्ञानिक मान्न सकिन्छ ?
नेपालका सवै राजनीतिक पार्टी र नेताहरुले रुपमा अल्झँदाअल्झँदै सार भुलिसकेका छन्। २०४७-२०४८ सालमा कांग्रेस र एमालेका नेताहरु शव्दलाइ सिध्याउन सम्पूर्ण शक्ति र उर्जा लगाइरहेका हुन्थे। सधैं शव्दसँग सिंगौरी खेलिरहेका हुन्थे। ‘पञ्चायत’ शव्द देख्नैहुँदैनथ्यो, दाह्रा किटेर आक्रमण गर्थे। त्यसवेला हामीले यी शव्दहरु मेट्न समय वर्वाद गर्नुसट्टा प्रजातन्त्रलाइ संस्थागत गर्न र प्रजातान्त्रिक संस्कृतिलाइ जीवनपद्धतिमा उतार्नतिर लाग्नुपर्ने वेला हैन र?भनेर घच्घच्याएका थियौं। तपसीलका खुद्रा बिषयमा अल्झिरहनु सट्टा प्रजातान्त्रिक संस्कृति निर्माण गर्न र त्यस्लाइ राष्ट्रिय संस्कारको रुपमा विकास गर्नुपर्ने हैन र ? भनेका थियौं। ३ बर्षअघि नेकपा-माओवादी नजिकको विद्यार्थी सङ्गठन स्कुल साइनबोर्डका अक्षर सुधार्ने एकसूत्रीय अभियानमा थियो। बिद्यालयका नाम र साइनबोर्डका अक्षर हैन, शिक्षाको गुणस्तर सुधार्नतिर लागे हुन्थ्यो भनेका थियौं। प्राथमिकतामा रहनुपर्ने मुख्य बिषयलाइ छाडेर सुसेधन्दामै दिन विताएको कारणले वहुदल अनाथ,बेवारिसे भयो र अभिभावक भनिएकाहरुकै काखपोल्टामा त्यस्ले प्राण त्याग्यो। गलत बाटो पक्रेको र उल्टो दिशातिर लम्केकै कारणले लोकतन्त्रको हाल-बेहाल भैसकेको छ।
तत्कालको राष्ट्रिय कार्यभार के हो ? राष्ट्रिय आकांक्षा के हो ? तिनलाइ प्राथमिकताक्रममा राखेर छनौट गर्न नसक्दा अहिलेपनि सवै गाजेमाजे भएको छ। राज्यले सीमान्तिकृत वर्गलाइ ध्यान देओस भन्ने चाहेका थिए। राज्य सीमान्तिकृत वर्गतिर गएन जातपातको बाटो लाग्यो। सज्जनको संरक्षण गरोस् भनेका थिए, अपराधीको मुद्दा फिर्ता लिनतिर लाग्यो। विपन्न, दरिद्रमाथि अर्जुनदृष्टि टिकाओस् भनेका थिए, ठूलावडालाइ भत्ता दिनको लागि अध्यादेश ल्याउँदाल्याउँदै आयुक्षीण ग(यो। जात, सम्प्रदायको नाममा आरक्षणको सुविधा सम्भ्रान्तहरुको काखपोल्टामा पारिदियो।
“सवै रोगको औषधि हिमालय तेल” भनेझैं के त अव जेमा पनि हिंसाकै प्रयोग गर्ने हो? सरकारले त त्यही गरिरहेछ, जस्ले बढी हिंसाको प्रयोग गर्न सक्छ, त्यसैको कुरा सुन्छ। निमुखा भूईंमान्छेहरु, जस्लाइ न त आफ्नो हकअधिकारकै बिषयमा ज्ञान छ, न त सङ्गठित हुन सक्छन्, न त हिंसाकै प्रयोग गर्छन्। जव सरकारले नै हाक्काहाक्की हुलहुज्जत र ढुङ्गामुढालाइ स्वीकार र असङ्गठित आवाजलाइ अस्वीकार गर्छ, तव पिल्सिएर बसेका सीमान्तकृत वर्गको मझेरीमा घाम लाग्दैन भनेर वुझे हुन्छ। चरी मारिंदा एमालेका नेताहरु र घैंटे मारिंदा कांग्रेसका नेताहरुको रुवावासी, बिलौना सुनिरहँदा के निस्कर्षमा पुगिन्छभने नेपालको पार्टीराजनीति गुण्डा, डनहरुको भरमा चलेको छ।
चर्चित व्यक्तिका हत्या हुँदा जनदबावलाइ पर्गेल्न सरकारले न्यायीक आयोग बनाइटोपल्ने गरेको छ। त्यस्ता आयोग अनगिन्ती बने। तर, ती आयोगका प्रतिवेदनका पानासम्म कसैले पल्टाएन। हरिप्रसाद शर्मा आयोगले प्रतिवेदनमा यस्तो लेखेको थियो, “शान्तिसुरक्षा र व्यवस्थाको चर्को नारा घन्काउनेहरु नै अपराधीको संरक्षक, अभिभावक र पृष्ठपोषक हुनु दुर्भाग्य हो। उच्चस्तरका राजनीतिक व्यक्तिले नै अपराधी पाल्ने, संरक्षण गर्ने र अभिन्न मित्र बनाउने कार्य गर्छनभने शान्तिव्यवस्था कायम हुन सक्दैन।” हिंसाको माध्यमबाट आएको अभिव्यक्तिलाइ सरकारले मान्यता दिने मात्र हैन , विशिष्ट व्यवहार गर्ने भएपछि सवैले विस्तारै हिंसालाइ रोज्न थाल्छन्। साढेचार बर्षअघि डडेलधुरा, आलिताल गाविस स्थित स्यालचौडी माविमा वैठक वसिरहेको थियो। माओवादीका तत्कालीन सभासद हरिलाल थापा वैठककक्षमा प्रवेश गरे र आउनासाथ प्रअ महादेव भट्टमाथि लात्ति-मुङ्ग्री वजार्न थाले। सर्वथा अयोग्य व्यक्तिलाइ नियुक्ति गर्न दिएको दबावलाइ इन्कार गरेको कारणले गर्दा भट्टजीले त्यो आक्रोशको शिकार हुनुपरेको थियो। त्यत्रा मान्छेका सामुन्ने एकजना निर्दोष व्यक्तिलाइ निर्घात् चुटिरहेछन् तर रामबहादुर कुँवरबाहेक कसैले वचाउ गरेन। वैठक कक्षमै पसेर हरिलाल थापाले हेडसरलाइ निर्घात चुट्नु घिनलाग्दो होभने, त्यहाँ उपस्थित समुह चुपचाप हेरेर बस्यो त्योचाहीं भयावह स्थिति हो। यिनै हरिलाल थापाले एउटा आमभेलामा दुर्गा उच्च माविका प्रअ प्रताप धामीलाइ देखे। देख्नासाथ, “राजिनामा गर्छस् कि तँलाइ जिउँदै जलाइदिऊँ” भनेर झम्टिहाले। दुष्हरुको दुष्टताले यो संसार जति बिग्रिएको छ, त्योभन्दा हजारौं गुना बढी सज्जन भनाउँदाहरुको निस्क्रियताले बर्वाद भएको छ। लाग्छ, नेपालीहरुमा प्रतिरोधचेत निख्रिसकेको छ। अस्ति उद्योग व्यवशायीलाइ आक्रमण हुँदा अरु वोलेन। तिनीहरुलाइ मात्रै गरेका हुन्, हामी किन वोल्ने भने। हिजो अस्पतालमा तोडफोड गरिरहँदा अरु आएनन्।
आज शिक्षा क्षेत्रमा आक्रमण हुँदा अरुले मतलव गर्दैनन्। भोलि अर्को क्षेत्रमा आक्रमण हुँदापनि कोही वोल्ने छैनन्। उनीहरु छानिछानि आक्रमण गरिरहने छन्, हामी शीकार भैरहने छौं। यी हिंस्रक, आततायीहरु जात, थर, गोत्र, सम्प्रदायको राज्य बनाउने भन्दै आतङ्क मच्चाइरहनेछन्, हामी निरीह बनी छेउकुना लुकेर टुलुटुलु हेरिरहनेछौं।
