झापा। प्रधानमन्त्री सुशील कोइरालाले दुनियाँको कुनैपनि शक्तिले अब संविधान जारी गर्नबाट रोक्न नसक्ने दाबी गरेका छन् ।

सोमबार झापाको चन्द्रगढीमा गिरिजाप्रसाद कोइराला स्मृति भवनको शिलान्यासका क्रममा उनले संविधान निर्माणका लागि जहाज उडिसकेको र अब अवतरण गर्न मात्रै बाँकी रहेको बताए ।
नेपालमा राजनीतिक स्थायित्व, विकास र समृद्धिका लागि अन्तर्राष्ट्रिय समुदायले पटक–पटक घच्घच्याएको भन्दै उनले जनताले चाहे जस्तै संघीय संरचनासहितको संविधान तयार भइरहेको बताए ।
कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान निर्माणको प्रक्रिया निष्कर्षमा पुग्न लागेको भन्दै अहिले पनि संविधान जारी हुन नदिने प्रपञ्च भइरहेको बताए ।
कुनै जाति वा क्षेत्र विशेषलाई अधिकार दिन आपूmहरुले जेलनेल भोगेको होइन भन्दै ओलीले सम्पूर्ण नागरिकले अपनत्व महसुस गर्नेगरी संविधान जारी हुने जिकिर गरे ।
यस्तै, एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले सबैको चित्त नबुझे पनि संविधान जारी भएरै छाड्ने दाबी गरे । गिरिजाप्रसाद कोइरालाको सपना पूरा गर्नका लागि दलहरुबीच सहमति भएको भन्दै उनले श्रावण २० भित्र संविधान जारी हुने दाबी गरे ।
यसैगरी, मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले १६ बुँदे सहमतिले संविधान निर्माणको ढोका खुलेको भन्दै अब मस्यौदालाई जनताको बीचमा लगेर अधिकतम् सहमति गर्ने प्रयास भइरहेको बताए ।
कार्यक्रममा कांग्रेस महामन्त्रीद्धय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, एमाले सचेतक अग्नि खरेल, झापाका प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेललगायतको सहभागिता थियो ।
१२ करोड ७२ लाख रुपैयाँको लागतमा निर्माण हुन लागेको भवन अन्तर्राष्ट्रियस्तरको हुने र दुई वर्षभित्र सम्पन्न गर्ने बताइएको छ ।
