जनकपुरधाम, मंसिर ५ । राम जानकी विवाह पञ्चमी महोत्सव अन्तर्गत आज चौथो दिन जनकपुरमा तिलकोत्सव कार्यक्रम सम्पन्न भएको छ । सो अवसरमा जानकी मन्दिरबाट दूई सय एकवटा पाहुर लिएर जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव राम मन्दिर पुगेका थिए । तिलकोत्सवको अवसरमा जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव र अयोध्या दरवारको प्रतिनिधित्व गर्ने राम मन्दिरका महन्त राम गिरिले अंकमाल गरेका थिए । सो अंकमाल कार्यलाई यहाँ समधी मिलान भनिन्छ । सो अवसरमा दूवैपक्ष बीच हासपरिहासका कार्यक्रम भएको थियो । सो दृश्य एकदम रोचक हुने गरेको स्थानीयवासीहरुले बताएका छन । तिलकोत्सव कार्यक्रमको संयोजन जनकपुरको महावीर युवा कमिटीले गरेको थियो । तिलकोत्सव हुनु पूर्व जानकी मन्दिरका महन्थ वैष्णव, उत्तराधिकारी महन्थ रामरोशन दासलाई राम चोकमा पुगे पछि राम युवा कमिटीले भव्य स्वागत गरेको थियो ।
विवाहपञ्चमी अन्तर्गत भोली जानकीको मटकोर हुनेछ । सो मटकोरका लागि जानकी मन्दिरबाट गाजाबाजाका साथ महिलाहरु माटो ल्याउन गंगासागर पोखरी पुग्नेछन । गंगासागरमा टोली पुगे पछि जानकीलाई गंगा आरती गरिनेछ । सो स्थलमा गीतनादको कार्यक्रम समेत राखिएको जानकारी सेभ हिस्टोरिकल जनकपुरका सदस्य हरिप्रसाद पंजियारले दिएका छन ।
विहिवार जानकी मन्दिरमा वैवाहिक कार्यक्रम राखिएको छ । रामजानकी विवाहपञ्चमीमा सहभागि हुँदा मनोवाञ्छित फल प्राप्त हुने जन विश्वास रहेकाले नेपाल भारतका विभिन्न स्थलबाट ठूलो संख्यामा श्रद्धालु भक्तजनहरु जनकपुर आउने गर्छन । राम मन्दिरबाट विवाहका दिन जानकी मन्दिरमा ठूलो संख्यामा जन्ती जानेछन ।


(स्रोत: दूधमती)
