सप्तरी । पाँच दिन यता शितलहर चलेसँगै बढेको चिसोले सप्तरीका बासिन्दाको जनजीवन प्रभावित भएको छ ।

एकातिर संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको अनिश्चितकालिन आमहड्ताल र अर्कोतिर चिसो र कठ्याग्रिने जाडोले सडकमा चहल पहल निकै घटेको छ ।
बाक्लो हुस्सुका कारण सडकमा दुर्घटना समेत बढ्दै गएको छ । हुस्सुमा तीब्र गतिमा गाडी चलाईंदा एक साता यता चार वटा यात्रु बस दुर्घटना भइसकेको प्रहरीले जनाएको छ । चिसोबाट विपन्न समुदाय बढी पीडित देखिएका छन् ।
चिसो छल्न सर्वसाधारण ठाउँ ठाउँमा आगो तापेर बसेको दृष्य निकै देखिन थालेको छ । चिसो बढेसंगै बजारमा न्यानो कपडा किन्नेको भीड बढेको छ ।
यता, अत्यधिक चिसोकै कारण निमोनिया, दम, झाडापखालालगायतका विरामीको संख्या ह्वात्तै बढेको छ ।
तर, सहकर्मीमाथि प्रहरीले कुटपिट र दुब्यर्वहार गरेको भन्दै स्वास्थ्यकर्मीहरुले विगत २४ दिनदेखि जिल्लाभरको स्वास्थ्य सेवा ठप्प पारेपछि विरामीको विचल्ली भएको छ ।
यद्यपी आन्दोलनमा उत्रेका स्वास्थ्यकर्मीहरुले स्थानीय गजेन्द्रनारायण सिंह सगरमाथा अन्चल अस्पतालमा टेण्ट टाँगेर आकस्मिक सेवा सञ्चालन गरेका कारण सर्वसाधारणले सामान्य राहत पाउँदै आएका छन् । अतिनै संवेदनशील विरामीको उपचार टेन्ट मार्फत् सञ्चालन भइरहेको अस्पतालले जनाएको छ ।
