Friday, September 7, 2018
Home > पत्र-पत्रिका > चिनियाँ राष्ट्रपतिलाई प्रचण्डको पत्र

चिनियाँ राष्ट्रपतिलाई प्रचण्डको पत्र

काठमाण्डु– मुलुकमा संघीयता विवाद पेचिलो बन्दै गएका बेला यसबारे चिनियाँ नेताहरूसँग परामर्श गर्न एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार अपराह्न चीन गएका छन् ।
प्रचण्डले तीन महिनाअघि राज्य पुनर्संरचना अर्थात् संघीयताबारे चिनियाँ राष्ट्रपति सी जिनपिङलाई लेखेको पत्रबारे त्यहाँ छलफल गर्ने स्रोतले बतायो ।
पत्रमा प्रचण्डले नेपाल जातीय पहिचानसहित संघीयतामा जाँदा छिमेकीलाई कुनै सुरक्षा चुनौती नआउनेमा आश्वस्त पार्न खोजेका छन् । चीन पहाडमा धेरै र मधेसमा थोरै प्रदेशको विपक्षमा देखिँदै आएको छ ।
चिनियाँ अधिकारीहरूले उत्तर-दक्षिण जोडिने थोरै प्रदेशका पक्षमा विभिन्न राजनीतिक दलका नेताहरूसमक्ष मत राख्दै आएका छन् । एमाओवादी नेतृत्वको विपक्षी गठबन्धनले जातीय पहिचानसहित १० प्रदेशको संघीय संरचना बनाउन खोजेको छ । सत्तासीन दल कांग्रेस(एमाले एमाओवादीको यो अवधारणासँग सहमत छैनन् । दलहरूबीच यसमा कुरा नमिल्दा संविधान जारी हुन सकेको छैन ।
प्रचण्डले पत्रमा जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रपति रहने शासकीय स्वरूप र विभिन्न जनजातिको पहिचान झल्किने गरी प्रदेश बनाउँदा राष्ट्रिय एकता बलियो हुने व्यहोरा उल्लेख गरेको स्रोतको दाबी छ ।
काठमाण्डुबाट पत्नी सीता र पार्टी महासचिव कृष्णबहादुर महरालाई लिएर चीनको दक्षिणपश्चिम युनान प्रान्तको कुनमिङ लागेका प्रचण्डले त्यहाँ राष्ट्रपति सीका प्रतिनिधिसँग छलफल गर्नेछन् ।
प्रचण्डसँगको छलफल सकारात्मक भए उनलाई त्यहाँबाट बेइजिङ लगेर राष्ट्रपति सीसँग भेट गराउने सम्भावना छ’, स्रोतले भन्यो, ‘व्याख्या सकारात्मक नलागेको अवस्थामा प्रचण्ड कुनमिङबाटै स्वदेश फर्कने अवस्था पनि हुनसक्छ ।’
प्रचण्डले दुई महिनाअघि काठमाण्डु आएका चिनियाँ विदेशमन्त्री वाङ यीसँग पनि आफूले राष्ट्रपति सीलाई पठाएको पत्रबारे छलफल गर्न चाहेका थिए । तर वाङले त्यतिबेला दलका नेताहरूसँग छुट्टाछुट्टै भेट गरेनन् ।
संघीयताबारे चिनियाँ कूटनीति बुझेर एमाओवादीले पहिलो संविधानसभामा हिमाली क्षेत्रका भोटे र लामाका लागि प्रस्तावित जडान प्रदेश दोस्रो संविधानसभामा आउँदा हटाएको छ । प्रचण्डको पत्रमा दक्षिणी छिमेकी भारतबारे केही उल्लेख छैन । तर राष्ट्रपति सीलाई उनले पठाएको पत्रबारे भारतीय अधिकारी जानकार छन् ।
स्रोतका अनुसार एक मधेस एक प्रदेशका पक्षमा वकालत गरिरहेका मधेस केन्द्रित दलसँग सहकार्य गरिरहेका प्रचण्डसँग चिनियाँ अधिकारीले ‘धेरै बुझ्ने र थोरै बोल्ने’ रणनीति अवलम्बन गर्न सक्छन् ।
चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा प्रचण्ड चीन गएका हुन् ।
अन्नपूर्ण पोष्टबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *