Friday, September 7, 2018
Home > Uncategorized > गाउँको स्वास्थ्य सुधार्न सकिएला?

गाउँको स्वास्थ्य सुधार्न सकिएला?

डा.सुमन कर्माचार्य
मन्थली, रामेछाप

सन् २०१७ मा सकिने हाम्रो दिर्घकालिन स्वास्थ्य लक्ष्यले भन्छ, “हरेक आधा घण्टाको फरकमा जनताले आधारभुत प्राथमिक स्वास्थ्य सेवाको सुबिधा पाउनु पर्छ ।”देशको संबिधान भन्छ, “स्वास्थ्य जनताको नैसर्गिक अधिकार हो ।” देशको भौगोलिक परिस्थिति यस्तो छ कि कुनै गाविसको एक वडाबाट अर्को वडा पुग्न पाँच घण्टासम्म हिड्नुपर्छ । हालसम्म बिसं २०४८ सालको स्वास्थ्यनीतिले नै देश धानिदैछ । बिचमा धेरै लक्ष्यहरु प्रक्षेपित छन् । हरेक गाविसमा एउटा उपस्वास्थ्यचौकी थापेर सरकार निदाए जस्तै छ । जहा जनताले भनेको बेला एकजना अहेव भेट्न कहिलेकही मुस्किल पर्छ ।

जव निशुल्क औषधी वितरणको कार्यक्रम आयो, तव देखि स्वास्थ्य कार्यकर्ता नभएको ठाउँमा पनि औषधी पुगेको छ तर अधिकांश औषधीको म्याद गुज्रन केही महीना मात्र बाँकी हुन्छ । पहिले नपाएर हैरान, अहिले नसकिएर हैरान । जिल्ला स्वास्थ्य कार्यालयमा गएर औषधी थन्कन्छ । बजेटमा ढुवानी ब्यबस्था नभएको बाहनामा कहिलेकही औषधी सोही कार्यालयमा मरिसकेको हुन्छ । त्यही दाहसंस्कार गरिन्छ । उता आपुर्ति महाशाखाका मुख्य मान्छेहरु अख्तियारको फन्दामा पर्दछन् ।

अधिकांश स्वास्थ्यसंस्थाको नजिकै एउटा अर्को औषधी पसल हुन्छ । अप्ठेरो पर्दा ज्यान जोगाउन सक्ने र गाउँ छोडेर अन्य स्थानमा जान नसक्नेहरुका लागि ओम भनेपनि, टिचिंग भनेपनि, सोही औषधी पसल हुन्छ । त्यो पसलको कमाई त्यसैले राम्रै हुन्छ । गरिव जनताको घरको कुखुरा र भैसी बेचेको पैसाले औषधी पसल मोटाउछ । तर सबैले यही गरिव जनताको दुहाई दिदै उसलाई अझै गरिव र रोगी बनाउने उपक्रम चलाएकै छन् । तव गरिव जनताको लागि कस्तो स्वास्थ्य सेवाको परिकल्पना गर्दैछौं?सोचनिय बिषय छ ।

यो भन्दा अघि गाउँघरमा दन्तरोग बिशेषज्ञ सबैभन्दा बलिया फलामका काम गर्ने विश्वकर्मा दाजु थिए । उनको सनासोले दाँत राम्रैसंग उखेलिन्थ्यो । साना बच्चाका दाँतका लागि बिशेषज्ञ बच्चाका आमा नै हुन्थिन् । अहिले त्यो काम गाउँका अहेव दाजु या दिदीकहाँ सरेको छ । तर सदरमुकामबाट ८ कोश टाढा गाउँमा एकजना स्वास्थ्यकर्मी एउटा दाँत उखालेको चारसय रुपैया असुलेर बसेका पनि पाईन्छ । सदरमुकाममै हजार लिने या दाँतको सामान्य तालिमेले बिशेषज्ञको बिल्ला भिरेको पनि देखिन्छ । राज्यको स्वास्थ्यनीतिले हालसम्म पनि गाउँमा दाँतका रोगी हुन्छन् भन्ने चालनै पाएको छैन । सदरमुकामको एक घण्टाको दुरीमा एक दिने स्वास्थ्य शिविर गर्न जाँदा एक जर्मन दन्त बिशेषज्ञले भने, “आज दिन भरि मैले हेरेको बिरामीहरुको उपचारजर्मनीमा जस्तै गर्नुपर्यो भने म यो गाउँमा १० वर्ष बस्नुपर्छ ।” त्यसो होभने हाम्रो ग्रामिण जनताको स्वास्थ्यको अवस्था कुन हालतमा छ, सहजै अनुमान लगाउन सकिन्छ ।

निशुल्क स्वास्थ्यसेवाको राग अलापेकै बेलामा एउटा दाँत झिक्न जाँदा चार सय रुपैया असुली माग्दा ती गरिव दाजुलाई र तिमी त साह्रै कमजोर भएछौं भन्दै दुई दिन ज्वरो आएको गाउँकी महिलालाई एउटा सलाइनको बोतल चढाएर पाँचसय असुली माग्दा कस्तो महसुस भयो होला?

अर्कातिर आँखा रोगको समस्या उत्तिकै छ । एउटा सानो बस्तीमा आँखा शिविर लिएर गयो भने दुइसय देखि तीनसय जनासम्मको जाँच गर्नुपर्ने हुन्छ । आँखाको स्वास्थ्य राज्यको प्राथमिकताको क्षेत्रमा नै पर्दैन ।‘ मोतिया बिन्दु, आँखाका संक्रमण, सधैलाई अन्धो बनाउने फुलोपर्नेरोग (जसलाई तुरुन्त भेटे दृष्टि बचाउन सकिन्छ) जस्ता रोगहरु र आँखाको पावर घटबढलाई मिलाउने प्रबिधि जसलाई चिकित्सकको जरुरी पर्दैन,त्यस्ता बिरामीहरु प्रशस्त भेटिन्छन् तर त्यसतर्फ ध्यान पुगेको देखिन्न । एउटा पाँच सयको चश्माको जाँच गरि लगाउन दुईहजारको मोटर भाडा र हजारौको हवाइजहाज भाडा तिर्नुपर्ने हुन्छ । आखा सहायक पढाउने सस्था धेरै कम छन् । तर भन्छन् जो पढाउन चहान्छन् धेर्रै मोटो कमिशन बिना ती संस्थाहरुले स्विकृति पाउन्नन् ।

एउटा जिल्लामा एउटा आँखा सहायक र दन्त सहायक सम्मको ब्यबस्था छैन तर सरकारले हरेक गाबिसहरुमा एउटा चिकित्सकको ब्यबस्था गर्ने महत्वाकांक्षी प्रस्ताव अघि सार्दैछ । चिकित्सक नराख्नु् भन्ने आशय होइन, तर नेपालका दुर्गम गाबिसहरुमा हेल्थ असिष्टेण्ट, अनमी, डेण्टल हाईजिनिष्ट, आँखा सहायक, ल्याव सहायक, र सामान्य हड्डी भाँचिएको खिच्न सक्ने एक्सरे सहायक मात्र पुर्याउन सक्ने हो भने पनि गरिव जनताका लागि लाख हुनेछ । तर ती राष्ट्रसेवकहरु नामका लागि मात्र र हुनुका लागि मात्र हुनुले केही अर्थ राख्दैन । साँच्चैनै उनीहरुले जानेका जति सीपलाई प्रयोग गर्न सक्ने यन्त्र उपकरण र सही हालतमा (नब्रिगेको र विग्रनासाथ मर्मतको ब्यबस्था सहित) हुनुपर्दछ । त्यस्तै ती राष्ट्रसेवकहरु साच्चैनै सेवकका रुपमा रहनुपर्दछ । सकारात्मक सोच र साच्चै सहायता गर्ने धारणा नबनाएका राष्ट्रसेवकहरुको जति सीप र ज्ञान भएता पनि गाउँका पीडित जनताका लागि उपयोग हुने वातावरण अहिले सम्म बनेको देखिदैन । यसको मुख्य कारण हाम्रा सोचाइहरु बाह्यमुखी छन् । हामी अन्र्तमुखी भएर आफ्नो कामबाट आफुै सन्तोष र आनन्द लिने भन्दा पनि आफ्नो कामका लागि अर्कोले स्यावासी दिएन, या भनेजति कमाउन सकिएन या सहि मुल्यांकननै भएन भनेर कुण्ठामा बाँच्न रुचाउछौै । त्यसैले पनि स्वास्थ्य सेवा प्रभावकारी हुन सक्दैन ।

त्यसैले अहिलेको दुर्गम गाउँको स्वास्थ्यसेवालाई प्रभावकारी बनाउन पहिलो, स्वास्थ्य चौकी र उपस्वास्थ्य चौकीका ब्यबस्थापन समितिहरुलाई ब्यबस्थापकिय अधिकार दिनुपर्दछ । जस्तै औषधीको आपुर्ति, स्थान र हावापानी हेरि औषधीको किसिम फरक हुन सक्दछ, र सो अनुसार गर्न सक्नेछन् । त्यस्तै चाहिने परिमाण फरक हुनसक्दछ । त्यसैले राज्यले अनुदान प्रदान गरेर कित स्वास्थ्य बिमा मार्फत निशुल्क या आधा मोल मात्र लिएर भएपनि औषधीको आपुर्तिको ब्यबस्था गर्न सके आपुर्ति महाशाखा प्रमुख अख्तियार धाउनु पर्नेछैन । यहा स्वास्थ्यसेवालाई कसैसंग हात नथापि आफै दिगो कसरी बनाउन सकिन्छ भन्ने मुल प्रश्न हो । दोस्रो, आमा र बच्चाको स्वास्थ्य रक्षाका साथै शरिरका अन्य रोगहरु लगायत दाँत तथा आँखाको प्राथमिक उपचारको सम्पुर्ण ब्यबस्था गाउँमा भए ग्रामिण जनताको सहर र बजार धाएर भैसी र खेत बेचेर उपचार गर्न जानुपर्ने बाध्यतालाई घटाउन सकिन्छ । तेस्रो, महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई अझै सुबिधाहरु प्रदान गरेर र अझ ज्ञान र सीप दिलाएर प्रतिकारात्मक र प्रबद्र्धनात्मक स्वास्थ्यसेवामा उपयोग गर्न सकिन्छ । चौथो, अन्य प्रतिकारात्मक स्वास्थ्यसेवा जस्तै खोप, सुरक्षित खानेपानी, पानीबन्द चर्पी, धुवारहित चुलो, पोषण अबस्थामा सुधार ल्याउन किचेन गार्डेनको ब्यबस्था, घर वरपरको सरसफाई, यौन र प्रजनन स्वास्थ्य शिक्षा, किशोरकिशोरीहरुका लागि यौन शिक्षा, परिवार नियोजन,महिला हिंसाको कमि गर्ने आन्दोलन जस्ता कार्यक्रमहरुलाई एउटै छानाबाट “प्रतिकारात्मक जनस्वास्थ्य सेवा”का रुपमा संचालन गरिनु पर्दछ । जसलाई हरेक गाबिस र जिल्लामा रहेका गैरसरकारी संघ संस्था तथा ल्कवहरुको सहायताले प्रभावकारी रुपमा संचालन गर्न सकिन्छ ।

अवको स्वास्थ्य सेवाको आँखाले गाविस होईन, हरेक घरको हरेक ब्यक्तिलाई देख्नुपर्छ, चिन्नुपर्छ, र आवश्यकता पर्ना साथ सेवा दिनुपर्छ । अव रोग हिड्ने होइन, उपचार हिड्नुपर्छ । रोगी हिड्ने होइन, अस्पताल हिड्नुपर्छ । कुर्सीमा बसेर नियमको बहिखाता पल्टाएर अधिकार जमाउने होइन, कर्तब्यका ढड्डाहरु नियालेर जनताको घरदैलोमा पुग्ने स्वास्थ्यसेवामा उद्दत रहने साच्चैका राष्ट्रसेवकहरुले स्वास्थ्यसेवा चलाउनुपर्छ । तवमात्र स्वास्थ्य क्षेत्रमा लोकतान्त्रिक गणतन्त्र आएको महसुस जनताले गर्नेछन् ।

कपबचmब)द्दण्ण्छ२थबजयय।अयm

Leave a Reply

Your email address will not be published. Required fields are marked *