काठमाडौं । पहिलो चरणको स्थानीय तह निर्वाचनको मतगणना अन्तिम चरणमा पुग्दा नेकपा एमालेले १०० सिट जितेको छ ।
पछिल्लो पटक काठमाडौंको कीर्तिपुर नगरपालिकामा करिब ८ सय मतान्तरमा एमालेले मेयर र उपमेयर जितेपछि एमालेले जितेका स्थानीय तहको संख्या शतक पुगेको हो ।
कीर्तिपुरमा जम्मा २ सय मत गन्न बाँकी छ । एमालेका उम्मेदवार रमेश महर्जनले ८ सय मतको अग्रता लिएका छन् । एमालेका नेता-कार्यकर्ताहरु बिजय उत्सव मनाउने तयारीमा छन् ।
प्रदेश नम्बर ३, ४ र ६ का २८३ स्थानीय तहका लागि भएको निर्वाचनको जारी मत परिणाममा एमाले अगाडि छ । उसलाई नेपाली कांग्रेसले पछ्याइरहेको छ ।
एमालेले जितेको १०० स्थानीय तहमध्ये सबैभन्दा धेरै प्रदेश नम्बर ३ मा छ । यहाँ उसले ४४ स्थानीय तह जितेको छ ।
काठमाडौं, ललितपुर र भारतपुर महानगरसहित अझै केही स्थानीय तहको मत गणना चलिरहेको छ ।
यसैगरी प्रदेश नम्बर ४ नम्बरमा एमाले दोस्रो हुने देखिएको छ । त्यहाँ उसले २४ सिट जितिसकेको छ भने गणना भइरहेको केहीमा अग्रता लिएको छ ।
प्रदेश नम्बर ६ मा उसले २४ स्थानीय तह जितेको छ ।
कांग्रेस पछ्याउँदै
२४४ स्थानीय तहको मत परिणाम आएको छ । र, कांग्रेसले एमालेलाई पछ्याइरहेको छ । कांग्रेसले अहिलेसम्म ९५ स्थानीय तह जितेको छ ।
कांग्रेस प्रदेश नम्बर ४ मा पहिलो बन्ने सम्भावना छ । तर, प्रदेश नम्बर ३ मा भने एमाले भन्दा एमाले भन्दा निकै पछाडि परेको छ ।
माओवादीले भने ४५ सिट जितेको छ । उसले धेरै सिट प्रदेश नम्बर ६ मा जितेको छ ।
