पर्यटकले पैसा तिर्न छाडे, मन्दिरमा झाडी पलायो

भैरहवा । शान्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिर अहिले अस्तव्यस्त बनेको छ । तीन महिनादेखि मधेस आन्दोलन र बन्दको चपेटामा परेको मन्दिर यतिबेला कर्मचारीहरुको हडतालका कारण बन्द हुने स्थितिमा पुगेको छ ।
विदेशी पर्यटकहरुको मुख्य आकर्षणस्थल मानिने लुम्बिनीको अवस्था यस्तै रहिरहे देशले नै ठूलो घाटा व्यहोर्नुपर्ने अवस्था आएको छ ।
राजधानीमा रहेको विमानस्थल र पशुपतिको ट्वाइलेट निरीक्षण गर्न पटक-पटक पुगिसकेका पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेलले अहिलेसम्म एकचोटि पनि लुम्बिनीका बारेमा चासो नदिएको स्थानीयको गुनासो छ ।
कोष कर्मचारीहरुको झगडा र वेवास्ता कारण लुम्बिनीको मुख्य केन्द्रविन्दु रहेको मायादेवी मन्दिरमा अहिले सजिलै कुकुरहरु प्रवेश गर्ने गरेका छन् ।
पदाधिकारीहरु घुमघाममा व्यस्त रहेको र बाँकी कर्मचारीहरु कार्यालयमा ताल्चा लगाएर आन्दोलनमा उत्रिँदा लुम्बिनीको मुख्य केन्दविन्दु मायादेवी मन्दिरको अवस्था दयनीय बन्न थालेको स्थानीयले चिन्ता गरेका छन् ।
कर्मचारीको वेवास्ताका कारण मायादेवी मन्दिरको सौन्दर्यलाई चारैतिरबाट झाडीले ढाक्न थालेको छ । मायादेवी मन्दिरको चारैतिर बनाइएको तालमा पलाएको झाडीसमेत सफा गर्ने कोही निस्किएको छैन । मन्दिर परिसरमै वरिपरि उम्रिएको घाँस काट्नसमेत अहिले कोही कोषका कर्मचारी अघि सरेका छैनन् ।
कोषको कार्यालयमा ताल्चा
कोषमा करार र ज्यालादारीमा काम गर्ने कर्मचारीहरुले विभिन्न माग राखेर लुम्बिनी विकास कोषको कार्यालयमा ताल्चा लगाएका छन् छन् । स्थायी कर्मचारी एवं कोषका पदाधिकारीहरु कोही घरमा बसेका छन् भने कोही काठमाण्डौँतिर घुमघाम गर्नमा व्यस्त रहेको कर्मचारीहरु बताउँछन् ।
गत साउन २४ गते लुम्बिनी विकास कोष कर्मचारी युनियनले विभिन्न ८ बुँदे माग राखी आन्दोलन सुरु गरेको थियो । त्यसमा कोष कार्यालयले ८ बुँदे मागमध्ये पाँचवटा मागमा सम्झौता गरे पनि त्यसलाई कार्यान्यवन नगर्दा आन्दोलनमा उत्रिनु परेको आन्दोलन समितिका अध्यक्ष रविन्द्रनाथ शुक्लाले अनलाइनखबरलाई बताए ।
साथै उनले कोषमा भइरहेको भ्रष्टाचार नियन्त्रण गर्न र कर्मचारीहरुको रोजीरोटी सुनिश्चित गर्न पनि आन्दोलन गरिरहेको दाबी गरे ।
आन्दोलनरत कर्मचारीहरु दिनभरि बन्द कार्यालयमा आएर धर्नामा बस्ने गरेका छन् । कार्यालय अन्य कर्मचारीहरु भने कार्यालयमै आउँदैनन् । अहिले कोष कार्यालयबाट हुने सम्पूर्ण कामकाज ठप्प छ ।
आन्दोलनरत कर्मचारीले लुम्बिनी विकास कोष कार्यालयका साथै मायादेवी प्रवेश गर्नका लागि अन्तराष्ट्रिय पर्यटकहरुका लागि चाहिने टिकेट काउन्टरमा पनि ताल्चा लगाएका छन् ।
टिकट काउन्टरमा ताल्चा लगाइएका कारण अन्तराष्ट्रिय पर्यटकहरु विना टिकट मायादेवी मन्दिरमा प्रवेश गरिरहेका छन् । यसले लुम्बिनीको राजश्व संकलनमा समेत नराम्रो प्रभाव परेको कोषका कर्मचारी बताउँछन् ।
पर्यटक आगमन घट्यो
लगातारको मधेस आन्दोलन र कर्मचारीको हडतालका कारण अहिले लुम्बिनीमा पर्यटक आगमनको संख्यासमेत ह्वात्तै घटेको छ ।
लुम्बिनीमा पर्यटक आगमनका लागि कोषले पनि विभिन्न कार्यक्रम गर्दै आएको थियो, जुन अहिले प्रभावित भएको छ । जाडोयाम सुरु भएसँगै अन्तराष्ट्रिय पर्यटक र आन्तिरक पर्यटकको घुइँचो लाग्ने लुम्बिनीमा अहिले सुनासान बनेको छ ।
विगतका वर्षहरुमा जाडोयाम सुरु भएसँगै आन्तरिक र बाहृय पर्यटक गरी दैनिक कुल २ हजार देखि २ हजार ५ सय पर्यटक आउने गरे पनि यस वर्ष भने दैनिक ३/४ पर्यटकहरु मात्र आउने गरेको मायादेवी मन्दिरमा खटिएका एक सुरक्षाकर्मीले बताए ।
कोषका कर्मचारीहरुको आन्दोलनका कारण लुम्बिनी विकास कोष अन्र्तगत रहेका कुनै पनि स्थान/कार्यालयको सूचना पाउन सकिने अवस्था छैन ।
कोषको कार्यालयमा आन्दोलनरत कर्मचारीहरुले ताल्चा लगाएपछि पदाधिकारी तथा अन्य कर्मचारी कार्यालयमा नआउने गरेका कारण पर्यटकहरु सूचनाबाट बञ्चित हुनुपरेको छ ।
के छ आन्दोलनरत कर्मचारीको माग ?
कोष कार्यालयले साउन ३२ गते आन्दोलनरत कर्मचारीहरुसँग सम्झौता गरेको थियो । कोषमा विगत ३ वर्षदेखि नियमित रुपमा करार र ज्यालादारीमा कार्यरत कर्मचारीहरुलाई खुल्ला विज्ञापन गरिएका विभिन्न पदहरुमा प्राथमिकता दिई समायोजन गर्ने सम्झौतामा उल्लेख छ ।

समायोजन गर्न बाँकी रहेका कर्मचारीको हकमा नयाँ दरबन्दी सिर्जना गरी करारमा नियुक्ति गर्ने सहमति भएको थियो । यो काम नहुञ्जेलसम्मका लागि कोषको आन्तिरक श्रोतबाट तलब, भत्ता खाने गरी करार नियुक्ति गर्ने र सो कार्य ०७२ साल भदौ ११ बस्ने बैठकमा पेश गर्ने गरी सहमति गरिएको थियो ।
कोष र कर्मचारी युनियनवीच पाँचवटा बुदाँमा भएको यो सम्झौता कोषले कार्यान्यवन नगर्दा समस्या उत्पन्न भएको आन्दोलनरत कर्मचारी बताउँछन् । युनियनका अध्यक्ष शुक्लाका अनुसार कोषका करार र ज्यालादारी कर्मचारीहरुले साउन महिनादेखि तलब पाएका छैनन् ।
लुम्बिनी विकास कोष कार्यालय अन्र्तगत ३८ जना करारमा र ४५ जना ज्यालादारी कर्मचारी गरी कुल ८३ जना त्यस्ता कर्मचारी छन् ।
कोष कार्यालयअन्र्तगत कुनै कर्मचारीले लगातार ९० दिन कार्य गरेमा त्यस कर्मचारीलाई करारमा नियुक्ति गर्नुपर्ने लुम्बिनी विकास कोषको नियमावलीमा व्यवस्था रहेको अध्यक्ष शुक्लाले अनलाइनखबरलाई बताए ।
उनले भने- ‘तर यहाँ ९० दिन त टाढैको कुरा, २०/२५ वर्षसम्म काम गरेका कर्मचारीलाई पनि करारमा नियुक्ति गरिएको छैन ।

नियमावलीमा अनुसार सेवा करारमा रहेको कर्मचारीहरुलाई करारमा नियुक्त गर्न कोषका पदाधिकारीहरुले आफुहरुसँग सहमति गरे पनि त्यसलाई कार्यान्यवन नगरिँदा आफूहरुले बाध्यतापूर्वक कोषको कार्यालयमा ताल्चा लगाई आन्दोलन गर्नु परेको उनले बताए । उनले माग पूरा नभएसम्म कार्यालयको ताल्चा नखोल्ने र आन्दोलन जारी रहने बताए ।
कोषका उपाध्यक्ष भन्छन् – तालाबन्दी नगरिदिए हुन्थ्यो
मन्दिरमा भइरहेको बेथितिबारे जिज्ञासा राख्दा कोषका उपाध्यक्ष सिद्धार्थ महर्जन अबको एक साताभित्र समस्या समाधान हुने बताउँछन् ।

म उपाध्यक्ष भएर आएदेखि नै कर्मचारीका जायज मागहरुलाई सम्बोधन गर्ने प्रयास गरिरहेको छु,’ महर्जनले अनलाइनखबरसँग भने, पहिले भएका सहमतिहरु कार्यान्वयनको प्रक्रियामै रहेका बेला नयाँ संविधान आयो र सरकार पनि परिवर्तन भयो, जसले गर्दा केही प्राविधिक ढिलाइ भएको हो । अब चाँडै वार्ता गरेर पूरा गर्न सकिने जायज मागहरुलाई सम्बोधन गरिनेछ ।’
उपाध्यक्ष महर्जनले भने- तर, मागहरुलाई कार्यान्वयन गर्ने काम भइरहेकै बेला पवित्र लुम्बिनीमा तालाबन्दी, हडतालजस्ता कार्यहरु कर्मचारी साथीहरुले नगरिदिएको भए राम्रो हुन्थ्यो ।’
स्रोत : ऑनलाइन खबर

