काठमाडौं । अमेरिकी राष्ट्रपति बाराक ओबामाले जलवायु परिवर्तनसँग जुध्न हरितगृह ग्यास उत्सर्जन कटौतीसम्बन्धी महत्वांकाक्षी योजना सार्वजनिक गरेका छन् ।

योजनालाई ओबामाले ‘अमेरिकाले यसअघि कहिल्यै नउठाएको अति महत्वपूर्ण योजना’ भनेका छन् ।
अमेरिकी उर्जा केन्द्रबाट उत्सर्जन हुने कार्बन डाइअक्साईड जस्ता हरितगृह ग्यास उत्सर्जन आगामी १५ वर्षभित्र करिब एक तिहाइले कटौती गर्ने ‘क्लिन पावर प्लान’को लक्ष्य छ ।
योजनाले वायु, सोलार पावर र नवीकरणीय उर्जाका स्रोतको प्रयोगमा जोड दिएको छ । ओबामाले जलवायुको मुद्दा सम्बोधन गर्न सक्ने अहिलेको पुस्ता अन्तिम भएको टिप्पणीसमेत गरेका छन् । जलवायु परिवर्तन अर्को पुस्ताको समस्या बन्न नहुने उनले स्पस्ट पारे ।
तर, उक्त योजनाले अमेरिकी अर्थतन्त्रमा क्षति पुर्याउने भन्दै रिपब्लिकन नेताहरुले त्यसको विरोध गर्ने बताएका छन् । विभिन्न राज्यका गभर्नरहरुले पनि ओबामाको योजनालाई बेवास्ता गर्ने जनाइसकेका छन् । उर्जा उद्योग क्षेत्रका विपक्षीहरुले योजनाको विरोध गरेका छन् । ओबामाले ‘कोइलाविरुद्ध युद्ध घोषणा गरेको’ उनीहरुको आरोप छ ।
अमेरिकालाई आवश्यक ऊर्जामध्ये कोइलाबाट एक तिहाइभन्दा बढी उत्पादन हुने गर्छ । डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपति पदकी उम्मेदवार हिलारी क्लिन्टनले भने आफू निर्वाचित भए ओबामाको योजनाको प्रतिरक्षा गर्ने बताएकी छन् ।
संयुक्त राष्ट्रसंघ र युरोपेली युनियनले पनि योजनाको प्रशंसा गरेका छन् । ओबामाले सार्वजनिक गरेको योजनाको लक्ष्यलाई जलवायु परिवर्तनसम्बन्धी डिसेम्बर महिनामा पेरिसमा हुने सम्मेलनअघि अन्य देशहरुका निम्ति चुनौतीको रुपमा हेरिएको छ । (एजेन्सी)
