ठक्कर दिने माइक्रो बसमा आगजनी
काठमाडौं । त्रिचन्द्र क्याम्पस अगाडि माइक्रोबसको ठक्करबाट घाइते भएका एक विद्यार्थीको उपचारको क्रममा मृत्यु भएको छ ।
बा १ ज ९१३६ नम्बरका माइक्रोबसले बुधबार विहान त्रिचन्द्र क्याम्पस अगाडि नामगेल शेर्पालाई ठक्कर दिएको थियो ।

शेर्पाको बागबजारस्थित मोडेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनी त्रिचन्द्र क्याम्पसमा विएससी पहिलो बर्षमा अध्ययनरत थिए ।
तीव्र गतिमा आएको माइक्रो बसले ठक्कर दिएलगत्तै आक्रोशित समूहले सो माइक्रो बसमा आगजनी गरेका थिए । आगजनीबाट माइक्रोबस पूर्णरुपमा क्षतिग्रस्त भएको छ । माइक्रोबसलाई क्रेनको सहायताले तानेर सडकबाट पन्छाइएको थियो ।

दुर्घटनापछि त्रिचन्द्र कलेज अगाडिको सडकमा यातायात सेवा केहीबेर अबरुद्ध भएको थियो । प्रहरी नियन्त्रणमा रहेका माइक्रो बस चालकले ब्रेक फेल भएर दुर्घटना भएको बताएका छन् ।
