शुक्रबार कार्तिक २१ , २०७१
काठमाडौं । आतंकवादी संगठन अलकायदाका प्रमुख ओसामा बिन लादेन मारिएको करिब तीन वर्ष भैसक्यो तर उनी कसको गोलीले मारिए भन्ने विवादले अहिले विश्वको सञ्चारमाध्यम तताएको छ ।
लादेन आखिर कसले हानेको गोलीले मारिए त भन्ने विवाद अहिले सतहमा आएको हो । लादेन मार्ने मिसनमा रहेका दुई कमान्डोले आफैंले चलाएको गोलीले मारिएको भन्दै ‘जस’ लिन खोजेपछि विवाद सिर्जना भएको हो ।
अमेरिकी पत्रिका वासिंगटन पोस्टसँगको कुराकानीमा ‘नेवी सील्स’का पूर्वसैनिक रोवर्ट ओ नीलले आफूले चलाएको गोलीले लादेन मारिएको दाबी गरेपछि यो विषय विवादमा तानिएको हो । नीलको यो दाबी सन् २०१२ मा लेखिएको ‘नो इजी डे’ नामक किताबमा उल्लेख भएभन्दा विपरित रहेको बताइएको छ ।
उक्त किताबमा भने अगाडि रहेको कमान्डोको गोलीबाट लादेन मारिएको उल्लेख थियो । त्यस किताबमा नीलको नाम उल्लेख गरिएको छैन ।
ओसामा बिन लादेन सन् २०११ मा पाकिस्तानको ऐबटावाद सहरको एक घरमा अमेरिकी सेनाको विशेष टुकडी ‘नेवी सील्स’को आक्रमणमा मारिएका थिए ।
अप्रेसनका समयमा सबैभन्दा अगाडि रहेको साथीले चलाएको निशाना चुकेपछि आफूले गोली चलाएको र गोली टाउकोमै लाग्दा लादेन ढलेको दाबी नीलले गरेका छन् ।
यसबारेमा अमेरिकी अधिकारीहरुले भने मुख खोलेका छैनन् । बरु यस अभियानसँग सम्बन्धित वरिष्ठ नेताहरुले यसबारेमा नबोल्न सचेत गराएका थिए । (एजेन्सी)