आइतबार कार्तिक २३ , २०७१
स्याङ्जा । कालीगण्डकी नदीको तीव्र बहावले कटान गर्न थालेपछि अहिले कालीगण्डकी जलविद्युत आयोजनाको ड्यामसाइड र जलाशय क्षेत्र भत्किन थालेको छ।
नदीको कटानकै कारण ड्याममा क्षति पुग्नुका साथै जलाशयको किनार–किनारमा पहिरो गइरहेको छ। सुक्खा पहिरोबाट बग्ने ढुंगा, माटो, झारपात र बुट्यान पानीमा मिसिँदा जलाशय पुरिँदै जाने खतरासमेत बढेको छ।
विगत पाँच/सात वर्षदेखि जलाशयको किनारा भत्किने क्रम सुरु भएकाले स्थायी समाधानका निम्ति समस्याको अध्ययन गर्न अन्तर्राष्ट्रिय परामर्शदाता नियुक्त गर्ने प्रक्रिया सुरु भइसकेको कालीगण्डकी आयोजना प्रमुख दीर्घायुकुमार श्रेष्ठले बताए।
‘विश्वको बैंकको ऋण सहयोगमा ‘कालीगण्डकी सुदृढीकरण आयोजना’ कार्यान्वयन हुँदैछ, यसका लागि परामर्शदाता नियुक्तिको प्रक्रिया अन्तिम चरणमा छ,’ उनले भने।
एक सय ४४ मेगावाटको कालीगण्डकी ‘ए’ आयोजनाको जलाशय स्याङ्जाको मिर्मी, गुल्मीको हर्मिचौर र पर्वतको सेतीवेणी क्षेत्रसँग जोडिएको छ। गुल्मीतर्फको क्षेत्रमा खासै असर नदेखिए पनि स्याङ्जा र पर्वतसँग जोडिएका क्षेत्रमा नदीको कटानले निकै असर पारिसकेको छ।
नदीको कटान रोक्न अस्थायी रुपमा किनारमा ढुंगा तथा बालुवा भरेका बोरा राखिएको छ। बर्खाको तुलनामा हिउँदमा जलाशय भरिँदै जाने हुँदा भत्किने वा किनारमा पहिरो जाने क्रम हिउँदमा बढिरहेको स्थानीय जीवन न्यौपानेले बताए।
कालीगण्डकी ‘ए’ देशकै ठूलो अर्धजलाशय (पिआरओआर) आयोजना हो। यसबाट असारदेखि असोजसम्मका चार महिना पूर्ण क्षमतामा बिजुली उत्पादन हुन्छ। बाँकी आठ महिना दैनिक ८ घन्टासम्म पानी जम्मा गरेर आवश्यकताअनुसार बढी माग भएका बेला बिजुली उत्पादन गर्ने गरिएको छ।
‘बर्खामा पूर्ण क्षमतामा बिजुली उत्पादन गर्न नदीको पानी सोझै विद्युतगृहमा खसालिन्छ, जसका कारण नदी गहिरिने क्रम बढेको छ भने हिउँदमा भरिने जलाशयले किनार कटान गरिहरहेको छ,’ स्थानीय न्यौपानेले भने, ‘कटानका कारण कृष्णगण्डकी गाविसका मिर्मी, आलमदेवी लगायत क्षेत्रमा निकै असर पारिसकेको छ।’
कटानका कारण खेतीयोग्य जमिन र बस्तीसमेत जोखिममा रहेको न्यौपानेको भनाइ छ। नदी वा जलाशयले पुर्यातइरहेको क्षतिको तुलनामा आयोजनाले कटान नियन्त्रणका काम नगरेको भन्दै उनले आयोजनाले पहिरोको अस्थायी नियन्त्रण गर्न भत्केका ठाउँमा ढुंगा थुपार्ने काममात्र गरेको गुनासो गरे।
केही ठाउँमा पहिरोलाई प्लास्टिकले छोपेर बग्नबाट रोक्ने प्रयास गरिएको छ। जलाशय क्षेत्रमा पहिरो जाने तथा कटान हुने समस्या बढ्नुका साथै माटो बालुवाले जलाशय क्षेत्र पुरिँदै गएको छ।